कालीगण्डकी करिडोरको भौतिक प्रगति १८ प्रतिशत


उत्तरमा कोरोलादेखि दक्षिण गैँडाकोटसम्मको कालीगण्डकी करिडोरमा हालसम्मको भौतिक प्रगति १८ प्रतिशत छ । राष्ट्रिय गौरवका तीन उत्तर–दक्षिण करिडोरमध्येको एक यस लोकमार्गमा झण्डै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ भने हालसम्म कतै पनि कालोपत्र हुन नसकेको सडक विभागले जनाएको छ ।

सो सडकमा गत आवमा भौतिक प्रगति ५२ र वित्तीय प्रगति ५१ प्रतिशत थियो । सडकमा कतै ट्र्याक खोल्ने, कतै स्तरोन्नति र कतै कालोपत्रका लागि ठेक्का सम्झौता भइरहेको छ । सो लोकमार्गमा २५ पुल डिजाइनका क्रममा रहेकाले आगामी वर्ष निर्माण प्रक्रियामा जाने उत्तर–दक्षिण करिडोर आयोजनाले जनाएको छ । आयोजनामा आशा गरेअनुसार गतिमा काम हुन नसकेको आयोजना प्रमुख शिवप्रसाद नेपालले बताउनुभयो । विभागले निर्माण गरिरहेको खण्डमा चालु आवमा १३२ किमी ग्राभेल गरेर त्यसमध्ये १०६ किमीमा कालोपत्र गरिने लक्ष्य लिइएको छ । पच्चीस पुल ठेक्कामा जानेछ ।

राजमार्गको लम्बाइ ४३५ किमी रहेकामा गैँडाकोटदेखि राम्दीसम्मको १३२ किमी एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको छ । कालोपत्रका लागि ठेक्का भइसकेको छ । राम्दीदेखि मालढुङ्गासम्म ११३ किमी लम्बाइमा ३६ किमी नेपाली सेनाले बनाइरहेको छ । सेनाले कतिपय खण्डमा ट्र्याक खोलिसकेर हस्तान्तरण गरिसकेको छ भने कतिपय निर्माणको क्रममा सेनाले ट्र्याक खोल्न बाँकी चालु आवमै सम्पन्न गरेर बुझाउने बताएको छ । आयोजनाले रिडीदेखि हर्मिचौर खण्डको कालोपत्रेका लागि सूचना निकालेको छ । आयोजना प्रमुख नेपालले भन्नुभयो, “यो खण्डमा चालु आवमा कालोपत्र हुनेछ ।”

मालढुङ्गादेखि रिडीसम्मको खण्डमा कालीगण्डकीको कतातर्फ करिडोर निर्माण गर्ने भनी ‘एलाइन्मेन्ट’ विवाद रहेको थियो । विवाद समाधानका लागि ५७ किमी क्षेत्रमा दुवैतर्फ गर्ने भन्ने निर्णयका आधारमा काम अघि बढाइएको छ । कालीगण्डकी बाँयातर्फ पर्वतमा धेरै र थोरै स्याङ्जामा करिडोर निर्माण भइरहेको छ । पर्वतपट्टि ५७ किमी मिर्मीदेखि अर्मादीसम्म काम भइरहेको छ । कालीगण्डकी दायाँतर्फ सेनाले ३६ किमी र बाँकीमा सडक विभागले निर्माण गरिरहेको छ ।

गैँडाकोटदेखि मालढुङ्गासम्म एक्जिम बैंकले निर्माण गरेको बाहेक २४५ किमीमध्ये थोरै क्षेत्रमा मात्रै ट्र्याक खोल्न बाँकी छ । पाल्पाको रानीमहल नजिकै ५०० मिटरमा ट्र्याक खोल्न बाँकी छ । गत आवमा खोल्नुपर्ने भएपनि कोरोनाका कारण नसकिएकाले सडक चाँडो खोलिसकिने प्रमुख नेपालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चट्टानी क्षेत्र भएकाले केही कठिन भए पनि एकतर्फी गाडी चल्ने भए पनि खोलिनेछ ।” रानी महल नजिक ट्र्याक खोल्न बाँकी छ भने ट्र्याक सुधार गर्न मुस्ताङमा बाँकी रहेको आयोजनाले जनाएको छ । समर खोलामा पुल बनाउन बाँकी छ । त्यो पुलसम्मको झण्डै २०० मिटर एक्सेस रोड बनाउनुपर्ने छ । बेनीबाट जोमसोसम्म ७६ किमी सडक कालोपत्रका लागि गत वर्ष नै ठेक्का सम्झौता भएको थियो । त्यसमा अहिलेसम्म एक किमी सडक पनि कालोपत्रे भइसकेको छैन । वर्षाले निर्माणाधीन सडकमा थप क्षति पुगेको छ । राजमार्ग डिजाइनमा जम्मा ५१ पुलमध्ये अहिलेसम्म १६ सम्पन्न भइसकेको छ । हाल १० निर्माण भइरहेको छ । थप २५ पुल बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आगामी वर्ष बाँकी ठेक्का प्रक्रियामा अघि बढ्नेछन् ।”

राजमार्गमा डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) नभई खण्डखण्डमा काम शुरु भएकाले निर्माणमा ढिलाइ भइरहेको प्रमुख नेपालले बताउनुभयो । निर्माणको काम कतै सेना र कतै आयोजना गरी फरकफरक निकायबाट भइरहेको छ । कतिपय स्थानमा पाँच मिटर (एक लेन) ट्र्याक खोलिसकेर अरू खण्डमा काम शुरु भएको छ । पछि त्यो ठाउँमा दुई लेन बनाउने भनेपछि फेरि त्यहीँ काम गरिँदै आइएको छ । देशका सबै विकास निर्माणमा जस्तै यहाँ पनि निर्माण सामग्री सजिलै नपाइने समस्या ज्युँका त्युँ छ । अरू दुई करिडोरजस्तै कालीगण्डकीमा पहिले सेनाले ट्र्याक खोल्ने त्यसपछि विभागलाई हस्तान्तरण गरेपछि स्तरोन्नतिका लागि छुट्टै तयारी गर्नुपर्छ । उहाँले भन्नुभयो, “त्यसका लागि डिपिआर र वातावरणीय अध्ययन गर्नुपर्ने हुन्छ ।” सडकको अधिकार क्षेत्रमा बस्तीमा केही समस्या भए पनि कतिपय स्थानमा स्थानीयवासीले जग्गा स्वतःस्फूर्त रूपमा दिइरहेका छन् । तीनै लोकमार्गको ट्र्याक खुलिसकेकाले सवारीसाधन चल्न थालेका छन् । कोशी राजमार्गमा १४ किमी ट्र्याक खोल्न बाँकी रहेकामा अहिले त्यहाँ सेनाले काम गरिरहेको छ । चालु आवभित्रै ट्र्याक खोलिसकिने मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस