प्रधानमन्त्री जोन्सनको ब्रेक्जिट योजनाप्रति पूर्व प्रधानमन्त्रीहरु असन्तुष्ट


लन्डन, २८ भदौ –– बेलायतका दुई जना पूर्व प्रधानमन्त्रीहरुले युरोपेली युनियन (इयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) सम्बन्धी प्रधानमन्त्री बोरिस जोन्सनको पछिल्लो प्रस्तावले उत्तरी आयरल्यान्डसँग गरिएको सम्झौतालाई नजरअन्दाज गरेकाले त्यो स्वीकार्य नहुने बताउनु भएको छ ।

उत्तरी आयरल्यान्डसँग भएको शान्ति सम्झौतालाई अहिले प्रधानमन्त्री जोन्सनले प्रस्तावले ठेस पु–याउने र बेलायतको प्रतिष्ठामा पनि आँच आउने उहाँहरुले दाबी गर्नु भएको छ ।

तत्कालीन प्रधानमन्त्रीहरु जोन मेजर र टोनी ब्लेयरले लामो समयसम्म उत्तरी आयरल्यान्डमा चलेको रक्तपातपूर्ण संघर्ष अन्त्य गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो ।

सन्डे टाइम्समा प्रकाशित जोन मेजर र टोनी ब्लेयरको एक लेखमा उहाँहरुले यसै वर्षको शुरुमा इयूबाट बेलायतको बहिर्गमन सहज प्रक्रियाबाट पूरा हुने अपेक्षामा बसेका आमजनतालाई निराश पारेको बताउनुभएको छ ।

उहाँहरुले प्रधानमन्त्री जोन्सनले अघि सारेको आन्तरिक बजार ऐनले बेलायतको सम्प्रभूतामाथि नै प्रश्न खडा गरेको दाबी गर्नु भएको छ ।

उहाँहरुले भन्नुभएको छ, “सरकारको यस्तो कार्य आफैंमा शर्मनाक र लज्जाजनक छ ।”

प्रधानमन्त्रीको प्रस्तावमाथि यसै साता संसदमा छलफल हुँदैछ । प्रधानमन्त्री जोन्सनको प्रस्तावमाथि युरोपेली युनियनले पनि कडा शब्दमा निन्दा गरेको छ ।

बेलायत सरकारले प्रस्तावित ऐनले अन्तर्राष्ट्रिय कानुनलाई खारेज गर्ने कुरा स्वीकारेको छ । प्रधानमन्त्री जोन्सनले अघि सार्नु भएको प्रस्तावले आयरल्यान्डको समुद्री जलक्षेत्रमा नाकाबन्दीको अवस्था सिर्जना हुनेछ ।

बेलायतका कानुन मन्त्री रोबर्ट बकल्यान्डले बिबिसीसँगको कुराकानीमा विषम परिस्थिति उत्पन्न भए प्रस्तावित कानुन लागू हुने बताउनुभयो । युरोपेली युनियनले बेलायती प्रधानमन्त्री जोन्सनले दाबी गरेझैं बेलायत र आयरल्यान्डबीचको व्यापार व्यवसायमा अबरोध ल्याउन युनियन लागिपरेको आरोपको खण्डन गरेको छ ।
आयरल्यान्डका विदेश मन्त्री सिमोन कोभेनीले बेलायत सरकारका तर्फबाट आइरहेका उत्तेजक भाषाको कुनै तात्विक असर नपर्ने बताउनुभयो ।

बेलायतले गत जनवरी ३१ मा युरोपेली युनियन औपचारिक रुपमा छाडेको थियो । इयूसँग व्यापार सम्झौता नभएको अवस्थामा बेलायतमाथि ठूलै संकट उत्पन्न हुने विश्लेषकहरुको भनाई छ ।

सन् २०१९ मा बेलायतले करिब ३७ अर्ब पाउन्ड बराबरको सामान जर्मनी निर्यात गरेको थियो जुन बेलायतको कूल निर्यातको झण्डै १० प्रतिशत थियो । जापानतर्फ बेलायतको निर्यात करिब ७ अर्ब डलर मात्र थियो जुन कूल निर्यातको २ प्रतिशतभन्दा केही कम थियो ।

यद्यपी इयूसँगको वार्ता अझै जारी छ । बेलायतले इयू परित्याग गरे पनि यस वर्षको अन्त्यसम्म इयूसँग भन्सार रहित स्वतन्त्र व्यापार गर्न बेलायतलाई छुट छ । तर सन् २०२१ देखि बेलायत र इयूबीच कसरी व्यापार र अन्य सम्बन्धहरु विकास हुन्छन् भन्ने अझै अन्यौल छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इयूसँग सम्झौता नभए पनि बेलायत इयूबाट बाहिर निस्कने बताइसक्नु भएको छ ।(रासस–एपी)

प्रतिक्रिया दिनुहोस