सेतीमा बगेर महिला बेपत्ता


सेती नदीमा बगेर आज एक महिला बेपत्ता भएकी छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शिखर नगरपालिका–६ कोट बस्ने अन्दाजी ३२ वर्षीया तुलसी बलायर नदीमा बगेर बेपत्ता भएकी हुन् ।

उनी आज गाउँ नजिकै सेती नदीमा गएको बेला चिप्लिएर नदीमा खसेको र नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी प्राप्त हुनासाथ खोजीका लागि नजिकै रहेको तिल्ताली प्रहरीचौकीबाट प्रहरी सहायक निरीक्षक रघुनाथ ओझाको कमाण्डमा प्रहरी टोली खटिए पनि फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

प्रहरी तथा स्थानीयवासीले बेपत्ता भएकी महिलाको खोजी जारी राखेको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव बढी तथा धमिलो पानी भएका कारण खोजीमा समस्या भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस