नेकपा अध्यक्ष दाहालद्वारा बोगटीप्रति श्रद्धाञ्जलि अर्पण


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटी ‘दिवाकर’प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । पार्टी मुख्यालय धुम्रबराहीमा आज ‘बोगटीको छैटौँ स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रममा उहाँले बोगटीको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

कोभिड–१९ का कारणले स्मृति दिवसमा वक्ताका रुपमा कसैलाई नराखिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले बोगटीको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो । सोही अवसरमा वाग्मती प्रदेशका सहइन्चार्ज हितबहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।

नेता बोगटी २०७१ साल भदौ ३० गते हृदयाघातका कारणले निधन भएको थियो । एकीकृत माओवादीको हेटौँडामा भएको सातौँ महाधिवेशनमा महासचिवमा निर्वाचित बोगटीलाई विराटनगरमा भएको पार्टीको राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिले उपाध्यक्षमा निर्वाचित गरेको थियो । उहाँ सरकारको ऊर्जा, सूचना तथा सञ्चार, पर्यटन नागरिक तथा उड्डयनमन्त्रीको जिम्मेवारी सम्हालिसक्नु भएको थियो । २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचन नुवाकोट क्षेत्र नं ३ बाट उहाँ प्रत्यक्ष तर्फबाट निर्वाचित हुनुभएको थियो । उहाँ नुवाकोटको साविकको तुप्चे गाविसको अक्करेमा २०१० साल साउन ३ गते जन्मिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस