पहिरोबाट विस्थापितलाई एकद्वार प्रणालीबाट राहत


सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घुमथाङको भिमखर्क र नाकबुच्चेमा शनिबार राति गएको पहिरोबाट विस्थापित परिवारलाई नगरपालिकाले आजदेखि एकद्वार प्रणालीबाट राहत वितरण गर्न शुरु गरेको छ ।
कोभिड १९ महामारीलाई ध्यानमा राखी विभिन्न संघसंस्था तथा व्यक्तिबाट प्राप्त राहत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी एकद्वार प्रणालीबाट वितरण गरिएको नगरप्रमुख निमफुञ्जो शेर्पाले बताउनुभयो । पहिरोमा घाइते तीन जनालाई पनि नगरपालिकाले निःशुल्क उपचार गराई रहेको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट बिस्थापित परिवारलाई त्रिपाल, टेन्ट, कम्बल, किट तथा भाँडाकुँडा पठाइसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । पहिरोबाट २२ घर पूर्णरुपमा क्षति भएको छ भने ५८ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

पहिरोमा बेपत्ता मध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । भेटिएकामा २२ वर्षीय कुमार बिक, २१ वर्षीया सोनीका बिक र ५३ वर्षीय सिंहबहादुर प्रधान भएको प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । पहिरोमा अझै १७ जना बेपत्ता छन् । भिमखर्कबाट झरेको करिब डेढ किलोमिटर लामो पहिरो नाकबुच्चेलाई लछार्दै भोटेकोशी नदीमा गएर टुङ्गिएको छ । दुईवटा शवलाई नदीले बगाएको अवस्थामा फेला परेको हुँदा नदी छेउमा रहेको नाकबुच्चेका बेपत्तालाई पनि नदीले बगाएको आशङ्का गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।

बेपत्ताको नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको तीन टोली बनाई बिहानैदेखि घरेलु औजारबाट खोजी भईरहेको ईलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताउनुभयो । मानिसबाट खोजी कार्य सम्भव नदेखिएपछि बिग्रेका सडक मर्मत गर्दै आजसम्ममा स्काभेटर लाने नगरपालिकाको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस