दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि


गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले दोस्रो विश्व ज्ञान सम्मेलन आगामी असोज २३ –२५ गतेसम्म आयोजना गर्ने भएको छ । एनआरएनए अध्यक्ष कुमार पन्तका अनुसार सो भर्चुअल सम्मेलनमा संयुक्त राष्ट्र सङ्घअन्तर्गतका विश्व खाद्य सङ्गठन, श्रम सङ्गठनलगायत इसिमोड, एशियाली विकास बैक, राष्ट्रिय योजना आयोग र विश्व बैंकमा कार्यरत विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् ।

विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन दुई वर्षअघि विश्व ज्ञान सम्मेलन आयोजना गर्न शुरु गरिएको थियो । राष्ट्र सङ्घको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजना, कोरोना महामारीपछि नेपालको अर्थतन्त्र, कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापछि विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिमा सम्मेलन केन्द्रित हुने सम्मेलन आयोजक समितिका संयोजक डा हेमराज शर्माले जानकारी दिनुभयो ।

सम्मेलनमा गैरआवासीय नेपाली विज्ञबाहेक चीन, जापान, भारत, सिङ्गापुर, श्रीलङ्का, दक्षिण कोरिया, साइप्रस, क्यानडा,अमेरिका, बेलायत, फिनल्यान्ड, अष्ट्रेलिया, नर्वे, नेदरल्यान्डस, फ्रान्स र जर्मनीका वैज्ञानिक सहभागी हुने छन् । आयोजकका अनुसार सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तथा विशेष अतिथि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनु हुने छ । रासस

प्रतिक्रिया दिनुहोस