मिडिया राष्ट्रिय हितको दायित्वबाट टाढा रहन सक्दैनः अध्यक्ष तिमिल्सिना


राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडियाले आफ्नो अधिकार उपयोग गर्दा अरूको अधिकार हनन गर्न नहुने बताउनुभएको छ । उहाँले मिडिया राष्ट्रिय हितको आफ्नो दायित्वबाट टाढा रहन नसक्नेसमेत बताउनुभयो ।

मिडिया एक्सन नेपालको तालीमको आज यहाँ आयोजित समापन सत्रमा भिडियो कन्फ्रेन्समार्फत शुभकामना दिनुहुँदै अध्यक्ष तिमिल्सिनाले मिडिया एक्सन नेपालले भ्रामक समाचारसम्बन्धी शोध पुस्तक प्रकाशन गरेकामा आभार व्यक्त गर्नुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले सञ्चारमाध्यमले सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने र गलत सूचना सम्प्रेषण गरेमा सञ्चारमाध्यमप्रति जनताको विश्वास गुम्ने बताउनुभयो ।

सञ्चारविज्ञ एवम् मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले तालीममा सहभागी पत्रकारले पत्रकारिताका नैतिक मानक, भ्रामक र मिथ्या समाचार, सूचना महामारीको रोकथामका सूचक, वैदेशिक नीति तथा मिडिया, तस्वीरको आधिकारिकता, लैङ्गिक संवेदनशील पत्रकारितालगायत विषयमा स्वदेशी तथा विदेशी विज्ञले प्रशिक्षण दिनुभएको बताउनुभयो । तालीममा झापा, इलाम र पाँचथरका ३० पत्रकारको सहभागिता थियो । रासस

प्रतिक्रिया दिनुहोस