फेसबुक अभियानबाट आर्थिक सहयोग सङ्कलन गरी अपाङ्गमैत्री घर निर्माण


गोरखा ३१, भदौ । शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठले फेसबुक अभियानमार्फत आर्थिक सहयोग सङ्कलन गरी अपाङ्गता भएका एक परिवारका लागि अपाङ्गमैत्री पक्की घर निर्माण गरिदिनु भएको छ । वडाध्यक्ष श्रेष्ठले परिवारका ३ सन्तान पूर्णरुपमा अपाङ्गता भएका वडाको कोटगाउँका स्थानीयवासी धनबहादुर श्रेष्ठको परिवारका लागि अपाङ्गमैत्री घर निर्माण गरिदिनु भएको हो । आर्थिक अवस्था अत्यन्तै कमजोर र परिवारका ३ सदस्य पूर्णरुपमा अपाङ्गता भएका श्रेष्ठ परिवार बस्दै आएको घर गोरखा भुकम्पले पूर्णरुपमा क्षति पु¥याएपछि नयाँ घर निर्माण गर्न सक्नु भएको थिएन ।

“तीन सन्तान पूर्ण अपाङ्गता भएकाले बृद्ध बुबाआमालाई छोराछोरीको स्याहार गरेर बस्नु पर्ने बाध्यता छ”, वडाध्यक्ष श्रेष्ठले भन्नुभयो, “उहाँको आर्थिक अवस्था कमजोर भएकाले श्रेष्ठ परिवारलाई दैनिक गुजारा चलाउनसमेत समस्या भएपछि घर बनाइदिने प्रतिबद्धतासहित अभियान थालेको थिए, जुन आज पूरा भएको छ ।”

अभियानबाट रु १४ लाख ८१ हजार ७४ सङ्कलन भएपनि घर निर्माणका लागि भने रु १६ लाख ८३ हजार ७ सय ४८ खर्च भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । “सबै क्षेत्रमा हारगुहार गरेर जसरी पनि घर बनाइदिनुपर्छ भनेर अठोट गरेको थिए”, उहाँले भन्नुभयो, “धन हुनेले धन दिनुभयो, मन हुनेले मन दिनुभयो यसबाट एउटा समस्यामा परेको परिवारले राम्रो ओत पाउनुभएको छ ।” वडाध्यक्ष श्रेष्ठद्वारा सञ्चालित फेसबुक अभियानमार्फत सङ्कलित रकमले निर्माण सम्पन्न भएको ३ कोठा १ शौचालय सहितको अपाङ्गमैत्री पक्की घर मङ्गलबार परिवारलाई घर हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले नवनिर्मित अपाङ्गमैत्री घर श्रेष्ठ परिवारलाई घर हस्तान्तरण गर्नुभएको हो ।

धनबहादुर श्रेष्ठ तथा पोषकुमारी श्रेष्ठका ६ सन्तानमध्ये छोरा राजिब श्रेष्ठ, छोरीहरु शिला श्रेष्ठ र लिला श्रेष्ठ पूर्णरुपमा अशक्त छन् । उनीहरु सबै दैनिक क्रियाकलापसमेत गर्न नसक्ने अवस्था छन् । “कामदारको अभाव, आर्थिक समस्यालगायत कारण भनेको समयमा घर निर्माण गर्न सकिएन तर केही ढिलो भएपनि समस्यामा परेको एउटा परिवारले घर पाउनु भएको छ”, उहाँले भन्नुभयो, “यो अभियान मेरो मात्र नभएर यस साथदिने सबै सहयोगी मनहरुको अभियानबाट सफल भएको हो ।” घर निर्माणका लागि रणसिहं दल गण गोरखाका ९ जनाले १० दिन कामसम्म सहयोग गरेको उहाँले जानकारी दिनुभयो ।

घर हस्तान्तरण कार्यक्रममा शहिद लखन गाउँपालिकाले उक्त परिवारलाई अपाङ्गता भएकाहरुलाई सहायता सामग्री खरिद गर्न एक लाख रुपैयाँ सहयोग गरेको छ । वडाध्यक्ष श्रेष्ठले अपाङ्ग आवास निर्माण सहयोग समिति नै गठन गरेर अभियान सञ्चालन गर्नुभएको थियो । अभियानमा आर्थिक सहयोग सङ्कलनका लागि गाउँपालिका वडा नम्बर ६ का बिष्णुकुमार श्रेष्ठ, वडा नम्बर ८ का अमृत श्रेष्ठ, काशिनाथ अम्गाईँ, उत्तरकुमार श्रेष्ठ, नवराज अम्गाईँ, वडा नम्बर ७ का किरण श्रेष्ठ लगायतले विशेष भूमिका खेल्नु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस