सुर्खेत विमानस्थलमा स्वास्थ्य सुरक्षाको तयारी पूरा


सुर्खेत विमानस्थलले कोरोना भाइरसको सम्भावित जोखिमबाट सुरक्षित रहन आवश्यक सुरक्षा मापदण्ड बनाएको छ । सरकारले भोलि (असोज १ गते) देखि लामो दूरीका यातायात र हवाइ उडान खुला गरेपछि विमानस्थलले आवागमन र प्रस्थान कक्षमा आवश्यक सङ्केतसहित स्वचालित सेनिटाइजरको व्यवस्था गरेको हो ।

सुर्खेत नागरिक उड्डयन कार्यालयका प्रमुख उमेशकुमार पन्थीले न्यूनतम एक मिटरको दूरी कायम गर्दै आवागमन र प्रस्थान कक्षमा चिन्ह लगाउने काम सम्पन्न भएको बताउनुभयो । उहाँका अनुसार भौतिक दूरी कायम गरेर यात्रु प्रवेश गराउने, मास्क अनिवार्य लगाउनुपर्ने, रुघाखोकीको लक्षण भएका यात्रु जान नपाउने, सेनिटाइजर प्रयोग गर्नुपर्नेलगायतका सुरक्षा मापदण्ड तयार गरिएको छ । “कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सामाजिक दूरी कायम गरेर मात्रै यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाएका छौंँ,” उहाँले भन्नुभयो, “विमानस्थलमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गर्न सामाजिक विकास मन्त्रालयसँग समन्वय भइसकेको छ ।”

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले सुर्खेत–काठमाडौं उडान शुरु हुनु अगावै आवश्यक स्वास्थ्यकर्मीको टोलीलाई खटाउने प्रतिवद्धता जनाइसकेको विमानस्थल प्रमुख पन्थीले जानकारी दिनुभयो । विमानस्थल प्रवेशदेखि विमान चढ्दासम्म अपनाउनुपर्ने सुरक्षाका सबै मापदण्ड कसरी ख्याल गर्ने भन्ने विषयमा विमान कम्पनीका प्रतिनिधिहरुसँग विमानस्थल प्रशासनले समन्वय गरिरहेको बताइएको छ ।

सुर्खेत विमानस्थलबाट बुद्ध एयरले सुर्खेत–काठमाडौँ उडान भर्दै आएको भएपनि भोलिदेखि उडान गर्ने÷नगर्नेबारे कुनै जानकारी गराएको छैन । सुर्खेत विमानस्थलबाट कर्णालीका हुम्ला, डोल्पा र मुगुमा तारा, समिट, सीता एयरले उडान भर्दै आएका छन् । सुर्खेत विमानस्थलमै नेपाली सेनाको पश्चिम एयर वेश समेत सञ्चालनमा छ ।

कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नजिक

कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या तीन हजार नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा पुष्टि भएका ५१ जनासँगै यहाँ सङ्क्रमितको सङ्ख्या दुई हजार ९१४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुर्खेत, दैलेख र चौरजहारीका प्रयोगशालाहरुमा गरिएको पिसीआर परीक्षणका क्रममा चार विद्यार्थी, तीन सुरक्षाकर्मी, दुई निजामती कर्मचारीसहित ५१ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज पहिचान भएकामध्ये सुर्खेतको वीरेन्द्रनगरका १३, सल्यानको बनगाड कुभिन्डे नगरपालिकाका ३३, दैलेखका दुई, जाजरकोट, रुकुम पश्चिम र उदयपुरका एक÷एक जना रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले कोरोना सङ्क्रमितको निको हुने दर पनि बढेको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेशनबाट गरी ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो सँगै कर्णालीमा डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ६०५ पुगेको छ । हाल आइसोलेशनमा रहेका सक्रिय सङ्क्रमितको सङ्ख्या ३०३ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस