कालिकोट कोरोनामुक्त


कालिकोट कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको छ । बुधबार जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली आइसोलेसनबाट २० जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएपछि कोरोना सङ्क्रमणमुक्त जिल्ला बनेको हो । कालिकोट जिल्लाभर १०० जनामा कोरोना सङ्क्रमण देखिएकामा सबै जना निको भएर घर गएको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालिकोटका निमित्त व्यवस्थापक कटकबहादुर महतले बताउनुभयो ।

कालिकोटमा हालसम्म ५ हजार ६९० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको र दुई हजार ६६१ जनाको आरडिटी विधिबाट कोरोनाको परीक्षण गरिएकामा १०० जनामा कोरोना सङ्क्रमण देखिएको निमित्त व्यवस्थापक महतले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमध्ये पचालझरना गाउँपालिकाबाहेकका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणका बिरामी भेटिएको महतले बताउनुभयो । कालिकोटमा कोभिड–१९ को उपचारका लागि १०० शय्याको अस्पताल निर्माण भएको छ । कोरोनाका बिरामी भेटिए अब त्यसैमा उपचार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस