जिल्ला प्रशासन कार्यालय लमजुङमा हटलाइन सेवा शुरु


जिल्ला प्रशासन कार्यालय लमजुङमा हटलाइन सेवा शुरु भएको छ । नागरिकका गुनासो सुन्न तथा समस्या समाधान गर्नका लागि आजबाट हटलाइन सेवा शुरु गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो ।

जिल्लाको शान्तिसुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपद् व्यवस्थापन लगायत प्रशासनको कार्य क्षेत्रसँग सम्बन्धित तथा जिल्लास्थित सार्वजनिक निकायका सेवा प्रवाहः एवं कार्यक्षेत्रसँग सम्बन्धित गुनासा लिएर सेवा प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको वार्षिक सुधार कार्ययोजना अनुसार हटलाइन सेवा सञ्चालन भएको हो । २४ सै घण्टा हटलाइन सेवा सञ्चालन हुने र गुनासोको गम्भीरताका आधारमा शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी तत्कालै सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासोहरु तत्कालै र अन्य गुनासोहरु सम्बन्धित सार्वजनिक निकायसँगको समन्वयमा सम्बोधन गरिने भएको छ । हटलाइन नम्बर ०६६५२१३९९ र सिंधै प्रमुख जिल्ला अधिकारीको मोबाइलमा समेत गुनासो तथा उजुरी दिन सकिने भएको छ ।

छ महिनापछि लमजुङमा पुनः यातयात सञ्चालन

लमजुङमा कोरोनाको त्रास तथा लकडाउनका कारण सार्वजनिक सवारीसाधन ठप्प भएको करिब ६ महिनापछि यातयात सञ्चालनमा आएको छ । कोभिड १९ का कारण गत चैत ११ गतेबाट बन्द रहेको यातयात सेवा आजबाट पुनः सञ्चालनमा आएको हो ।

यतिबेला लामो तथा छोटो दुरीका सवारी साधन चल्न थालेको छ । यातायात व्यवसायीले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै लामो तथा छोटो दूरीका सवारी साधन चलाइएको छ । लमजुङबाट काठमाडौं, पोखरा, चितवनलगायत ठाउँसम्म सवारी सञ्चालन भएको छ । लमजुङकालिका यातायात सञ्चालन प्रा.लि.का अध्यक्ष कृष्णबहादुर अधिकारीले आधा सङ्ख्यामा यात्रु राखेर सवारी सञ्चालन गरिएको बताउनुभयो । सवारी सञ्चालनमा आएपनि पहिलो दिन भएकाले यात्रुहरु कम आएको चालकको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस