बन्दाबन्दीले बन्दीपुरका होटल व्यवसायीको लगानी जोखिममा


दमौली, २ असोज । कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको बन्दाबन्दीले तनहुँको पर्यटकीय नगरी बन्दीपुरका व्यवसायीको करोडौं लगानी जोखिममा परेको छ ।

सरकारले घोषणा गरेको भ्रमण वर्ष–२०२० लाई लक्षित गरी होटल व्यवसायमा गरिएको लगानी जोखिममा परेको व्यवसायीहरुले बताएका छन् ।

भ्रमण वर्ष २०२० लाई लक्षित गरी बन्दीपुरमा नयाँ होटल निर्माण भएपनि लगत्तै भएको बन्दाबन्दीले व्यवसायी मारमा परेको क्षेत्रीय होटल व्यवसायी सङ्घ बन्दीपुरका अध्यक्ष विपीन प्रधानले जानकारी दिनुभयो । “भ्रमण वर्ष लक्षित गरेर व्यवसायीले नयाँ होटल निर्माण गर्नुभयो, पुरानो होटल व्यवसायीले पनि मर्मततर्फ लगानी गरेका थिए”, उहाँले भन्नुभयो, “तर कोभिड–१९ का कारण नेपालमा बन्दाबन्दी भयो, जसका कारण होटल व्यवसायीको लगानी खतरामा परेको छ ।”

विशेषगरी बाह्य पर्यटकले धानेको बन्दीपुरको पर्यटनलाई अब कसरी ब्युँझाउने भन्नेमा व्यवसायी छलफलमा रहेको अध्यक्ष प्रधानले जानकारी दिनुभयो । “बन्दीपुर विशेषगरी विदेशी पर्यटकले धानेको नगर हो, कोभिड–१९ का कारण यहाँको व्यवसाय पूरै धाराशायी स्थितिमा पुगेको छ”, उहाँले भन्नुभयो, “यसलाई फेरि पुर्नजीवित गराउन आवश्यक छ ।” सरकारले असोज १ गतदेखि होटल तथा रेष्टुरेण्ट खोल्न अनुमति दिएसँगै होटल व्यवसायीले होटल तथा रेष्टुरेण्ट खोलेका छन् । कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर होटल सञ्चालन गरिने अध्यक्ष प्रधानको भनाइ छ । “साउन १५ गतेदेखि सरकारले होटल खोल्न भनेपछि हामीले होटल खोल्यौ, तर केही दिनमै पुनः बन्द गर्ने निर्णय भयो”, उहाँले भन्नुभयो ।

होटल दरबार हिमालयका सञ्चालक वैश गुरुङले भ्रमण वर्ष तयारी गरेर लगानी गरेका व्यवसायी लगानी डुब्ने हो की भन्ने चिन्तामा रहेको बताउनुभयो । “कतिपय होटल नयाँ खुले, कतिपयले पुराना होटल मर्मत गरेर सेवा विस्तार गर्नुभयो”, उहाँले भन्नुभयो, “तर लगत्तै भएको बन्दाबन्दीले व्यवसायीलाई मार प¥यो ।” व्यवसाय सञ्चालन गरिएपनि पर्यटक आउने नआउने अझै द्विविधा रहेको उहाँले बताउनुभयो । “विदेशी पर्यटकको त अहिले सम्भावना रहेन, तर स्वदेशी पर्यटक आउने आशा छ”, उहाँले भन्नुभयो, “सबै मापदण्ड अपनाएर सेवा सञ्चालन गर्न व्यवसायी तयार छन् ।” गत वर्ष डेढ लाख पर्यटकले बन्दीपुर भ्रमण गरेका थिए । भ्रमण वर्ष २०२० मा तीन लाख भन्दा बढी पर्यटक बन्दीपुर आउने अनुमान थियो ।

बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेललगायत होटल सञ्चालनमा छन् । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरीलगायत हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुका लागि आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस