अतिक्रमित वनको जग्गा फिर्ता गराउन समिति गठन


सिरहाका विभिन्न स्थानमा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन समिति गठन गरिएको छ ।

सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलको अध्यक्षतामा बसेको बैठकले जिल्लामा अतिक्रमित सामुदायिक वनको जग्गा फिर्ता गराउन डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभासचन्द्र दासको संयोजकत्वमा समिति गठन गरेको हो ।

भूमिसुधार तथा मालपोत कार्यालय सिरहाका प्रमुख, नापी कार्यालय सिरहाका प्रमुख र सम्बन्धित वडाका जनप्रतिनिधि सदस्य रहने गरी समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले जानकारी दिनुभयो ।

समितिले अतिक्रमणमा परेको जग्गाको अभिलेख तयार पार्ने र फिर्ता ल्याउने आधार तयार पार्ने कार्यादेश पाएको छ । सिरहाको गोलबजार नगरपालिकाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले सामुदायिक वनको साढे तीन बिघा जग्गा अतिक्रमण गरेको भन्दै स्थानीयवासीले आन्दोलन शुरु गरेपछि जग्गा फिर्ता गराउन प्रदेश नं २ का मुख्मन्त्री लालबाबु राउतको निर्देशनमा अतिक्रमित जग्गा फिर्ता गराउन समिति गठन गरिएको हो ।

एघार हजार नयाँ सवारी दर्ता

यातायात व्यवस्था कार्यालय लहान सिरहामा आर्थिक वर्ष ०७६÷०७७ मा ११ हजारभन्दा बढी नयाँ सवारी दर्ता भएको छ भने रु ३१ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

कोरोना भाइरस सङ्क्रमण फैलिन सरकारले गरेको लकडाउनका बाबजुद सो कार्यालयमा आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी मोटरसाइकल आठ हजार ९२१, ट्याक्टर ७६५, सिटी रिक्सा एक हजार १६६, जीप÷पिकपभ्यान १५०, बस ४०, एम्बुलेन्स १७ तथा ट्रक र टिपर गरी कूल ११ हजार १६४ वटा नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख मीन भट्टराईले जानकारी दिनुभयो ।

यस्तै नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट आर्थिक वर्ष २०७६÷०७७ मा सो कार्यालयले रु ३१ करोड ४० लाख ८९ हजार १३ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो । सो अवधिमा १३ हजार ४८४ जनालाई नयाँ सवारी चालक अनुमतिपत्र वितरण गरिएको कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस