एक सिटमा एक जना मात्र बस्न वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुरोध


काठमाडौँ, ५ असोज । सार्वजनिक यातायातमा एक सिटमा एक जना मात्र बसी यात्रा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यात्रा गर्दा झ्याल खुला राख्ने, बसमा चढ्दा ओर्लदा स्यानिटाइजर प्रयोग गर्ने र कार्यालयभित्र जाँदा अनिवार्यरुपमा साबुन पानीले हात धुनसमेत अनुरोध गर्नुभयो ।

“अत्यावश्यक कामका लागि घरबाहिर निस्कनै पर्दछ, सबैले आ–आफ्नो जीवन समान्यीकरण गर्दै लैजानुपर्दछ”, उहाँले भन्नुभयो, “आफ्नो काममा निस्कनका लागि सार्वजनिक यातायात नै चढ्नपर्ने हुन्छ, एक व्यक्ति र अर्को व्यक्ति दुई मिटर टाढा लाइन बसेर चढ्नु पर्दछ ।” सरकारले यही असोज १ गतेदेखि स्वास्थ्यका मापदण्ड पुरा गरी लामो तथा छोटो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको थियो । गत चैत ११ गतेबाट नचलेका सवारीसाधन सञ्चालन हुन थालेका छन् ।

सार्वजनिक यातायात सरकारले सङ्क्रमणलाई नियन्त्रण गर्दै जिवनलाई सामान्यीकरण गर्नका लागि सञ्चालन गरेको उहाँले बताउनुभयो । सार्वजनिक यातायात प्रयोग गर्दा स्वास्थ्यका न्यूनतम मापदण्ड प्रयोग नभएका कारणले काठमाडौँ उपत्यकामा सङ्क्रमण बढ्दै गएको उहाँको भनाइ छ । स्वास्थ्य मापदण्ड अपनाइ यात्रा गरौँ र आफू, आफ्नो परिवार तथा समाजलाई सङ्क्रमणबाट जोगाउन आवश्यक छ ।

यस्तै ६० वर्षका वृद्धवृद्धा, बालबालिका र दिर्घरोगीलाई घरबाट ननिस्कनसमेत उहाँले अनुरोध गर्नुभयो । कोभिड–१९ को सङ्क्रमणको बारेमा केही विज्ञले समाजमा भ्रम सिर्जना गर्न थालेकाले त्यस्ता विज्ञको कुरा नपत्याउन समेत सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

मन्त्रालयका प्रवक्ता डा. गौतमले सरकारले सङ्क्रमणको उपचारका लागि धेरै नै मिहनेत गरेको उल्लेख गर्दै हाम्रो जस्तो गरिब देशले सर्वसाधारणको उपचार निःशुल्क गर्नु भनेको सन्तोषजनक रहेको बताउनुभयो । अहिलेसम्म ६५ हजार २७६ जनामा सङ्क्रमण र ४७ हजार २३८ जना सङ्क्रमण निको भई घर फर्किसक्नुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस