बानियाँले मदन पुरस्कार पाएपछि म्याग्दीमा खुशियाली


म्याग्दीमा जन्मेर हाल पोखरा बसोबास गर्दै आउनुभएका साहित्यकार चन्द्रप्रकाश बानियाँलाई महारानी उपन्यासका लागि मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरकार प्रदान गर्ने निर्णय गरेपछि म्याग्दीमा खुशियाली छाएको छ ।

गुठीको आइतबार बसेको बैठकले पुरस्कारका लागि अन्तिम सूचीमा परेका कृतिमध्ये ‘महारानी’ उपन्यासका लेखक बानियाँलाई उक्त पुरस्कार दिने निर्णय गरेसँगै बानियाँको गृहजिल्ला म्याग्दीमा खुशियाली छाएको हो । नेपालको एक प्रतिष्ठित पुरस्कार मानिएको मदन पुरस्कार पाउने बानियाँ साविकको धौलागिरि अञ्चलकै पहिलो व्यक्ति हुनुहुन्छ ।

साहित्यकार बानियाँको पृष्ठभूमि

साहित्यकार बानियाँको जन्म म्याग्दी जिल्लाको साविक पुलाचौर ९, हाल बेनी नगरपालिका वार्ड नं ५ भिरमुनीमा २००७ साल चैत २५ गते भएको हो ।

उहाँ बुबा हस्तदल बानियाँ र आमा नन्दकुमारी बानियाँका कान्छा सुपुत्र हुनुहुन्छ । उहाँले विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट एसएलसी र सरस्वती क्याम्पस, ठमेल, काठमाडौँबाट स्नातक गर्नुभएको छ ।

उहाँले विसं २०२४ मा बालबोधिनी प्रावि भिरमुनिबाट शिक्षण कार्य शुरु गरी पौलस्त्य निमावि भिरमुनि, मुक्तिधाम मावि राखु भगवती र मङ्गला मावि बाबियाचौरमा अध्यापन गराउनुभएको थियो ।

अध्यापनकै सिलसिलामा शिक्षक आन्दोलनमा सशक्त भूमिका खेल्दै पञ्चायती व्यवस्थाको विरोधमा लागेको आरोपमा २०३६ सालमा शिक्षक पदबाट उहाँलाई बर्खास्त गरियो र सार्वजनिक अपराधको मुद्दा लगाइएको म्याग्दीका साहित्यकार तथा नाताले चन्द्रप्रकाश बानियाँका भाइ कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।

त्यस समयको प्रशासनले माफी मागेर पञ्चायती व्यवस्थाको पक्षमा मत जाहेर गरेमा मुद्दा खारेज गरी शिक्षकमा पुनर्बहाली गरिदिने प्रलोभन देखाएको भए पनि बानियाँले स्वीकार नगर्नुभएको जानकारी कृष्णबहादुर बानियाँले दिनुभयो । फलस्वरुप उहाँलाई लगातार १० वर्ष तारेख थमाइएको थियो ।

उहाँले निजामती सेवातर्फ प्रवेश गर्ने चाहना राख्नुभयो र विसं २०३४ र २०३५ मा दुई पटकसम्म लोकसेवा आयोगको लिखित परीक्षा पास गर्नुभयो । योग्यताक्रममा दुई र पाँच नम्बरमा नाम निकाल्न सफल भएका उहाँलाई पञ्चायत व्यवस्था विरोधी रहेको भन्दै अन्तर्वार्तामा अनुत्तीर्ण गराइयो ।

उहाँले २०४० सालतिर तत्कालीन भूमिगत पार्टी नेकपा मालेको सम्पर्कमा रहेर २०४४ सालदेखि सङ्गठित सदस्यको रुपमा काम गर्नुभयो । उहाँ शुरुमा ‘प्रजातान्त्रिक राष्ट्रिय एकता मञ्च’ र त्यसपछि ‘क्रान्तिकारी बुद्धिजीवी सङ्घ’को अध्यक्ष हुनुभयो ।

माक्र्स्वादी सिद्धान्तका ज्ञाता उहाँले बुर्जुवा शिक्षा बहिष्कारको नीतिको प्रभावले होला स्नातकोत्तर गर्न भने चाहनुभएन । विसं २०४६÷४७ को जनआन्दोलनको पक्षमा उहाँ सक्रिय रुपमा सहभागी हुनुभयो । त्यसपछि नेपालमा विसं २०४८ मा सम्पन्न संसदीय निर्वाचनमा उहाँ म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका तर्फबाट उम्मेदवार भई विजयी पनि हुनुभयो । उहाँ संसदमा ‘कवि सांसद’ को नामले पनि परिचित हुनुभएको थियो । आफ्नो कमजोर स्वास्थ्य अवस्थाका साथै राजनीतिमा आफुलाई उपयुक्त पात्र नठानेको बताउने उहाँ सङ्गठित राजनीतिबाट अलग हुनुभएको हो । तर विसं २०५९ भदौ ५ मा तत्कालीन नेकपा माओवादीमा लागेको आरोपमा प्रशासनले गिरफ्तार गरी पटक पटक नजरबन्दमा राख्यो । सर्वोच्च अदालतको आदेशबाट जेलमुक्त भएपछि ज्यानको सुरक्षामा खतरा देखिएको भन्दै उहाँ २०६१ सालदेखि सपरिवार काठमाडौँमा डेरा गरी बस्न थाल्नुभयो ।

उहाँको परिवारमा धर्मपत्नी मित्रकुमारी, छोरा प्रविन र छोरी प्रमिला हुनुहुन्छ । उहाँहरु १० वर्षको काठमाडौँ बसाइपछि पोखरामा कार्यरत छोरा डा.प्रविन बानियाँको अनुरोधमा विसं २०७१ देखि पोखरामा बस्न थाल्नुभएको छ । चन्द्रकान्तको लेखनशैली पहिलेदेखि नै मिठो र स्तरीय हुने गरेको म्याग्दीका साहित्यकार बताउँछन् । तथापि उहाँले गहिरो अध्ययन अनुसन्धान र लेखन भने पोखराको बसाइपछि मात्र गर्न थालेको अर्का साहित्यकार कृष्ण बानियाँले जानकारी दिनुभयो ।

उहाँको ऐतिहासिक पर्वत राज्य, मृत्यु संस्कारःमन्थन नामक पुस्तक २०७५ सालमा प्रकाशित भयो । यसलगत्तै विसं २०७६ मा महारानी ऐतिहासिक उपन्यास प्रकाशित भयो । यी दुवै कृति ‘शिखा बुक्स काठमाडौँ’ ले प्रकाशन गरेको हो । सोही प्रकाशनबाट निकट भविष्यमा ‘भाँैंज्याहा’ नामक निबन्ध सङ्ग्रह प्रकाशित हुन लागेको बानियाँले जानकारी दिनुभयो ।

‘महारानी’ उपन्यासका लागि विसं २०७६ को मदन पुरस्कार पाएका चन्द्रप्रकाश बानियाँले आफूले यो पुरस्कारको कल्पना नै नगरेको बताउनुभएको छ । आफूलाई साहित्यकार समेत भन्न नरूचाउने बानियाँले आफ्नो उपन्यास पुरस्कृत भएको खबरले निकै खुशी भएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “म साहित्यकार पनि होइन, मेरो उपन्यासले मदन पुरस्कार पाउँला भनेर कल्पनासम्म पनि मैले गरेको थिइन, ७० वर्षीय लेखक बानियाँले भन्नुभयो ।”

के छ महारानी उपन्यासमा ?

तत्कालीन पर्वत राज्यको साङ्गोपाङ्गो वर्णनको दस्ताबेज हो महारानी उपन्यास । महाारानी उपन्यासमा तत्कालीन चौबिसे राज्यअन्तर्गत पर्वत राज्यको कथा समेटिएको छ । तत्कालीन पर्वत राज्यको राजधानी म्याग्दीको बेनीमा थियो । त्यतिबेलै बेनीमा एउटा देवीको मन्दिर बनाइएको किंवदन्ती छ । ती देवीलाई अहिले पनि महारानी भनेर पूजा गर्ने चलन रहेको छ ।

पर्वत राज्यको इतिहास, यहाँका अनेकन किम्वदन्ती, त्यतिबेलाको संस्कृति, भाषा, कला र बेनीमा रहेको महारानी देवीको मन्दिरलगायतका विषयवस्तुहरु यस उपन्यासमा उठान गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस