बेँसीशहर–चामे सडक अवरुद्ध


लमजुङ र मनाङको एक मात्र बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । मङ्गलबारदेखि निरन्तर परेको वर्षाले गएरातिदेखि बाढीपहिरो जाँदा यसखण्डको बेँसीशहर नगरपालिका– ७ पुवाखोला र वडा नं– ६ खरखरेभीरमा सडक अवरुद्ध भएको हो ।

निरन्तर वर्षाले बाढी आउँदा पुवाखोलाले करिब पाँच÷छ मिटर सडक खोलेको र खरभरेभीरमा सडकमाथिबाट ढुङ्गामाटोसहितको पहिराले करिब ४० मिटर सडक अवरुद्ध बनाएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालय लमजुङका सवइञ्जिनीयर सुमन अधिकारीले बताउनुभयो । सडक अवरुद्ध हुँदा सवारीसाधन आवजात हुनसकेको छैन । “पुवाखोलामा बाढी आउदा सडक खोल्ने गर्छ, हामीले ढुङ्गा माटो राखेर सडक सञ्चालन गर्ने गर्छौ तर दिगो समाधान हुनसकेको छैन”, उहाँले भन्नुभयो ।

त्यस्तै, खरखरेभीरमा सडक माथिको ठूलो पहिरो भएकाले त्यसलाई नियन्त्रण गर्न कठिन हुँदा पटक–पटक पहिरो जाँदा सडक अवरुद्ध हुँदै आएको छ । वर्षा निरन्तर भइरहेकाले उक्त स्थानमा गएको पहिरो तत्काल खुलाउन सम्भव नहँुदा यातायात सञ्चालनमा समस्या भएको उक्त कार्यालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस