कोरोना अपडेटः ‘कोभिड १९’ बाट विश्वमा सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो


वासिङ्टन ७ असोज । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेकोे संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख २४ हजार ९०८ पुगेको बुधबार प्राप्त समाचारमा जनााइएको छ ।

चीनको वुहानमा गत वर्ष पहिलो पटक देखिएको कोरोनाभाइरसबाट हालसम्म मृत्यु हुनेहरूको संख्या ९ लाख ७६ हजार नाघेको पनि सो विश्वविद्यालयले जनाएको छ । यद्यपी विश्वमा कोरोना भाइरस सङ्क्रमित २ करोड ३४ लाख २७ हजार ९१८ व्यक्ति कोरोना मुक्त भएका छन् । अझै पनि विश्वमा ७४ लाख २० हजार ८३५ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् ।

कोरोनाभाइरसबाट विश्वमै सबैभन्दा धेरै सङ्क्रमण र मृत्यु अमेरिकामा भएको छ । हालसम्म अमेरिकामा ७० लाख ९८ हजार २९१ भन्दा बढी सङ्क्रमित भएका छन् भने २ लाख ५ हजार ४९१ जनाको मृत्यु भएको उक्त विश्वविद्यालयले जनाएको छ । दोस्रो धेरै सङ्क्रमित भारतका छन् भने तेस्रो बढी सङ्क्रमित रहेको देश ब्राजिल हो ।

मृतकको संख्याको हिसाबले ब्राजिल दोस्रो स्थानमा छ भने भारत तेस्रो स्थानमा छ । भारतमा कोरोनाभाइरस सङ्क्रमितको संख्या ५६ लाख ५० हजार नाघेको छ । ब्राजिलमा १ लाख ३८ हजार १५९ जनाले कोरोनाभाइरसबाट ज्यान गुमाएका छन् भने भारतमा हालसम्म ९० हजार ७७ जनाको मृत्यु भएको छ । रुस ११ लाख २२ हजार २४१ सङ्क्रमितसहित चौथो स्थानमा छ भने पाँचौँ स्थानमा रहेको कोलम्बियामा ७ लाख ७७ हजार ५३७ जनामा सङ्क्रमण रेहेको छ । छठौैं स्थानमा रहेको पेरुमा ७ लाख ७६ हजार ५४६ व्यक्ति सङ्क्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरसबाट हालसम्म सबैभन्दा नराम्ररी प्रभावित देशका रूपमा अमेरिका, भारत र ब्राजिल रहे पनि पछिल्ला हप्तामा युरोपमा बढ्दो क्रममा सङ्क्रमण देखिएको छ ।

ेकेही दिन अगाडी मात्र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो देशमा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने भन्दै अहिलेकै अवस्थामा पनि यो लहर आइसकेको अनुभव गर्न थालिएको बताउनुभएको थियो ।

‘अहिलेको अवस्थामा नै हामीले दोस्रो लहरको महसुस गरिसकेका छौँ र हामीलाई लाग्छ हामीले अब सामाजिक दुरी कायम गर्नुपर्ने अलिक कडा खालका प्रतिबन्धहरु पनि लगाउनुपर्ने हुनसक्छ ।’प्रधानमन्त्री जोन्सनले भन्नु भएको छ ।

यसअघि नै बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने बताएका थिए । उनीहरुले यहाँ दोस्रो पटक भाइरसको वेभ आउन सक्ने भन्दै त्यस खतरासँग जुध्नका लागि आवश्यक तयारीका साथ बस्न भनेका हालै बताइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस