कृषि र पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण


दमौली, १३ असोज । कृषि र पशुपालनमा जिल्लालाई आत्मनिर्भर बनाउन कृषकलाई अनुदान रकम वितरण गरिएको छ ।

कृषि सेवा ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले अनुदान रकमबापत कृषकलाई रु ११ करोड १९ लाख ४४ हजार ८५० वितरण गरेको हो ।

पशु सेवा विज्ञ केन्द्रले साना मोडल फार्म स्थापना, मत्स्यपोखरी निर्माण, माछाका भुरा खरिद, पाडापाडी, बाच्छाबाच्छी हुर्काउन, दूध सङ्कलन केन्द्र निर्माणलगायत सङ्घ र प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५८ लाख ८९ हजार अनुदान रकम वितरण गरेको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकम तनहुँ र नवलपुर जिल्लाका पशुपालक कृषकलाई वितरण गरिएको हो ।

डा श्रेष्ठका अनुसार साना मोडल फार्म स्थापनाका लागि रु दुई करोड ३१ लाख, मत्स्य पोखरी निर्माणका लागि रु आठ लाख १० हजार, माछाका भुरा खरिद तथा ढुवानीका लागि रु एक लाख, पाडापाडी र बाच्छाबाच्छी हुर्काउनका लागि रु ६ लाख ५० हजार, उन्नत राँगो साढे खरिद तथा ढुवानीका लागि रु चार लाख ८० हजार, प्रजनन बोका खरिद तथा ढुवानीका लागि रु तीन लाख अनुदान रकम वितरण गरिएको छ । त्यसैगरी फ्रेस हाउस सुधारका लागि रु छ लाख, डेरी पसल सुधारका लागि रु छ लाख, दुग्ध सङ्कलन केन्द्र स्थापनाका लागि रु दुई लाख ५० हजार, नयाँ पकेट क्षेत्र कार्यक्रमका लागि रु १४ लाख ८५ हजार, नयाँ मत्स्य पकेट सञ्चालनका लागि रु १५ लाख ७० हजार, पुराना मत्स्य ब्लक सञ्चालनका लागि रु २२ लाख ९४ हजार अनुदान वितरण गरिएको छ ।

कृषि ज्ञान केन्द्रले भने रु सात करोड ६० लाख ५५ हजार ८५० अनुदान रकम वितरण गरेको छ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले तनहुँ र नवलपुर जिल्लामा गरी उक्त अनुदान रकम वितरण गरिएको जानकारी दिनुभयो । अनुदानग्राहीले रु चार करोड ४९ लाख १२ हजार ३४० लागत सहभागिता बेहोरेका छन् । आर्थिक वर्ष ०७६÷७७ मा कृषि विकास कार्यक्रममार्फत तनहुँ तथा नवलपुरमा रु १२ करोड नौ लाख ६८ हजार १९० बराबरको लगानी भएको छ । तिवारीका अनुसार तीन हजार ९६५ मौरी घार, एक हजार ४६४ थान कृषि उपकरण अनुदानमा वितरण गरिएको छ भने १३४ वटा प्लाष्टिक टनेल निर्माण गरिएको छ ।

कृषकले भने अनुदानभन्दा पनि बजारको व्यवस्था गरिदिन माग गरेका छन् । व्यास नगरपालिका–१ का पोल्ट्री व्यवसायी खेमराज अधिकारीले सरोकारवाला निकायले बजारको व्यवस्था गरिदिए कृषकलाई सहज हुने बताउनुभयो । “कृषकले उत्पादन गरेका सामग्री बिक्री वितरणका लागि बजारको सुनिश्चित हुनुपर्छ”, उहाँले भन्नुभयो, “बजार नभए अनुदान दिएको अर्थ छैन ।”

चालू आवमा रु ३३ करोडका कार्यक्रम

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र तनहुँले चालू आर्थिक वर्ष २०७७÷७८ मा कृषक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएका छन् । तनहुँ र नवलपुर कार्यक्षेत्र रहेका दुई कार्यालयले चालु आर्थिक वर्षमा कृषक लक्षित रु ३३ करोड बजेट बराबरका कार्यक्रम सञ्चालन गर्न लागेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले रु १२ करोडभन्दा बढीका कार्यक्रम सञ्चालन गर्दैछ । पशुपालक कृषकलाई अनुदान, पशु स्वास्थ्य सेवा कार्यक्रम, पशु प्रजनन लगायतका कार्यक्रम सञ्चालन हुने प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार पशु स्वास्थ्य सेवा कार्यक्रमका लागि रु एक करोड ३९ लाख ९० हजार, पशु प्रजनन तथा नस्ल सुधार कार्यक्रम रु १२ लाख ८० हजार, पशु आनुवांशिक स्रोत संरक्षण, संवद्र्धन तथा उपयोग कार्यक्रमका लागि रु १५ लाख ६० हजार, पशु आहार विकास कार्यक्रमका लागि रु २७ लाख, पशुपक्षी तथा मत्स्य व्यवसाय प्रवद्र्धन कार्यक्रमका लागि रु चार करोड ३३ लाख ९० हजार, पशुपक्षी तथा पकेट क्षेत्र विकास कार्यक्रमका लागि रु एक करोड २३ लाख, मत्स्य विकास कार्यक्रमका लागि रु ३८ लाख, क्षमता अभिवृद्धि विकास कार्यक्रमका लागि रु २१ लाख, पशुपक्षी बजार प्रवद्र्धन कार्यक्रमका लागि रु ६५ लाख १५ हजार र सुशासन तथा पारदर्शिता प्रवद्र्धन कार्यक्रमका लागि रु १२ लाख १० हजार बराबरका कार्यक्रम सञ्चालन हुनेछन् ।

कार्यालयले कृषकलाई उन्नत राँगो साढे खरिद, प्रजनन बोका खरिद, पाडापाडी हुर्काउन अनुदान, उत्पादनमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम, साना व्यावसायिक फार्म स्थापना तथा विस्तार, पशुपक्षी बीमा सुरक्षा प्रिमियममा २५ प्रतिशत अनुदान लगायतका कार्यक्रममा सहयोग गर्ने डा श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै माछापोखरी निर्माणमा सहयोग, भुरा खरिद, पोखरी मर्मत, डेरी माछामाछु पसल सुधार, दुग्ध चिस्यान सङ्कलन केन्द्र लगायतमा पनि कृषकलाई सहयोग गरिनेछ ।

पूँजीगततर्फ कार्यालयले रु दुई करोड २६ लाख बजेट प्राप्त भएको छ । उक्त बजेटबाट मोडल भेटेरिनरी अस्पताल निर्माण, प्रयोगशाला तथा डिस्पेन्सरीका लागि उपकरण खरिद गर्ने योजना छ ।

कृषि ज्ञान केन्द्रले चालू आर्थिक वर्षमा रु २१ करोडभन्दा बढीको कार्यक्रम सञ्चालन गर्दैछ । केन्द्रका प्रमुख कुलप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षका लागि कार्यालयलाई रु २१ करोड ८६ लाख २० हजार बजेट प्राप्त भएको छ ।

उक्त बजेटबाट बालीको बीमा शुल्कमा २५ प्रतिशत अनुदान, आलु खेती प्रवद्र्धन कार्यक्रम, कृषक वर्गीकरण र परिचयपत्र वितरण, मकै, भटमास र चैते धान विस्तार प्रवद्र्धन, बाँझो जग्गामा व्यावसायिक खेती प्रोत्साहन, घरघरमा प्राङ्गारिक मल उत्पादन सहयोग, फलफूल, तरकारी तथा नगदेबाली बिरुवा नर्सरी स्थापना, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापना, आधुनिक कृषि यन्त्र उपकरण खरिद लगायतमा सहयोग गरिने तिवारीले जानकारी दिनुभयो ।

त्यस्तै एकल फार्मका लागि खुल्ला जमीनमा प्राङ्गारिक उत्पादन, प्राङ्गारिक उत्पादनका लागि प्लास्टिक घर निर्माण, समूह वा सहकारीका लागि खुल्ला जमीनमा प्राङ्गारिक उत्पादन पुराना व्यावसायिक कृषि विकास उत्पादन केन्द्र कार्यक्रमका लागि सहयोग गरिनेछ । रासस

प्रतिक्रिया दिनुहोस