बुटवलमा ‘फुड बैंक’
कोभिड–१९ को महामारीबाट प्रभावितका लागि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा ‘फुड बैंक’ सञ्चालन गरिएको छ । रुपन्देहीमा क्रियाशील विभिन्न क्लबको सक्रियतामा बुटवलको ट्राफिकचोकमा आजदेखि खाद्य बैंक सञ्चालन गरिएको हो ।
लकडाउन अवधिभर सञ्चालन गरिने फुड बैंकबाट एक पटकमा एक जनालाई अढाइ केजी चामल, आधा केजी दाल, एक केजी आलु, आधा लिटर तोरीको तेल, एक केजी प्याज, एकएक पाउ लसुन, बेसार र अदुवा, एक किलो नुन, पाँच मास्क र साबुन प्रदान गरिने छ ।
कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्ले सञ्चालन गरिएको फुड बैंकमा हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानका लागि आग्रह गरिएको छ । सामाजिक सेवामा काम गर्ने संस्था रोटरी क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ बुटवल साउथ, रोट्रयाक्ट क्लब अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, इ–क्यान रुपन्देही र बुटवल महिला जेसिजका सहयोगमा बैंक सञ्चालन गरिएको रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी दिनुभयो ।