राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमामा जनशक्ति थप्दै सशस्त्र प्रहरी


महोत्तरी, २५ असोज । राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोष्ट (बिओपी) थप गरेको छ । भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोष्ट थप्ने पूर्वनिर्णयानुसार आज मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याएइको हो ।

सशस्त्र प्रहरी बल प्रदेश नं २ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षापोष्टको आज उद्घाटन गर्नुभयो । नवस्थापित सीमा सुरक्षापोष्ट मरुवाही नेपालभारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ । नयाँ पोष्ट सञ्चालनमा आएसँगै जिल्लामा अब सीमा सुरक्षापोष्टको सङ्ख्या आठ पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरप्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो ।

यसअघि जिल्लाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, मनरा, भिठ्ठामोर र मटिहानीमा सशस्त्र प्रहरीका सीमा सुरक्षापोष्ट रहँदै आएका छन् । नयाँ पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना विन्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरले जनाएको छ । भारतसँग महोत्तरी जिल्ला भरिमा ३८.४६ किलोमीटर दूरीको सीमा छ । सशस्त्र प्रहरीले यसअघि नै प्रदेश नं २ का आठ वटै जिल्लामा ७३ नयाँ सीमा सुरक्षापोष्ट स्थापना गर्ने गरी काम अघि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस