साकेला गाउँपालिका रतन्छा एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्ताका लागि सिल


साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।

काठमाडौँबाट आएका युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडालाई आगामी कात्तिक ३ गतेसम्मका लागि सिल गरिएको हो । घरपरिवार, छिमेकी, टोल, वडा र गाउँपालिकाका स्थानीयवासीलाई सम्भावित सङ्क्रमण हुनबाट बचाउन सिल गरिएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिनुभयो । यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा यसअघि एक जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै दश स्थानीय तह रहेको जिल्लामा हालसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ । सङक्रमितमध्ये २१ जनाले कोरोना जितेर घर फर्किसकेका छन् भने १० जना उपचारमा रहेका छन् । दुई नगरपालिका आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित भेटिएका छन् । उक्त नगरपालिकाबाट पिसीआर परीक्षणमा पठाइएकामध्ये १६ जनालाई सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिकामा चार÷चार, जन्तेढुङ्गा गाउँपालिकाका दुई, दिप्रुङ चुइचुम्मा, ऐसेलुखर्क, र बराहपोखरी गाउँपालिकाका एक÷एक जनालाई सङ्क्रमण पुष्टि भएको छ । केपिलासगढी गाउँपालिका र रावाबेँसी गाउँपालिकामा हालसम्म सङ्क्रमित फेला परेका छैनन् । केपिलासगढी गाउँपालिकाका ३५ र रावाबेँसी गाउँपालिकाका ६५ जनाको पिसीआर परीक्षण गरिसकिएको छ ।

परिवारका सदस्यमाझ मात्र दशैँ÷तिहार मनाउन आग्रह

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मात्र यस वर्षको दशैँ, तिहारलगायतका चाडपर्व मनाउन जिल्लावासीलाई आग्रह गरेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको १९औँ बैठकले दिनानुदिन कोरोना भाइरसको सङक्रमण वृद्धि हुने दर निरन्तर बढिरहेको अवस्थामा एक ठाउँमा भेला हुँदा सङ्क्रमण फैलिने त्रास बढेकाले सामूहिकरूपमा भीडभाड नगरी आ–आफ्नो घरका सदस्यमात्र सहभागी भएर चाडवाड मनाउन आग्रह गरेको हो ।

कोरोना सङक्रमणबाट बच्न र बचाउन आसन्न दशैँ, तिहारलगायतमा एक ठाउँमा भेला नहुन र चहलपहल नगर्न आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो । बैठकले नेपाल सरकारको कोभिड–१९ सम्बन्धी नियमको पालना गर्दै विभिन्न खेलकूद, धार्मिक मेला, भीडभाडका बीचमा गरिने कार्यक्रम, भेलाजस्ता ‘मास मुभमेन्ट’ मा सञ्चालन हुने गतिविधि नगर्न आग्रह गरेको छ ।

प्रत्येक वडामा वडाध्यक्ष वा वडासदस्यको नेतृत्वमा निगरानी टोली बनाएर स्थानीयवासीलाई कोभिड–१९ को सङ्क्रमणबाट बच्ने उपायका बारेमा सचेत गराउने तथा बाहिरबाट आएकालाई क्वारेन्टिन, आइसोलेसन वा स्वास्थ्य संस्थामा पु¥याउने व्यवस्था मिलाउन, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सिर्जनात्मक तरिकाले सचेतनामूलक अभियान सञ्चालन गर्न हरेक स्थानीय तहलाई अनुरोध गरिएको प्रमुख चाम्लिङले बताउनुभयो । यस्तै आइसोलेसन सेन्टर निर्माण तथा सञ्चालनसम्बन्धी कार्यविधिअनुसार आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय सरकारलाई अनुरोध गर्ने, जिल्ला बाहिरबाट आउने जोसुकै व्यक्तिलाई अनिवार्य पिसीआर परीक्षण गरेर मात्र आउन अनुरोध गर्ने निर्णय गरिएको समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस