खार्पुदोभानमा बेवारिसे काठ नियन्त्रित


सिमकोट, २७ असोज। हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं ४ खार्पुदोभानमा बेबारिसे अवस्थामा राखिएको काठ नियन्त्रणमा लिइएको छ । डिभिजन वन कार्यालयबाट खटिएको टोली र खार्पुनाथ प्रहरीचौकीको संयुक्त टोलीले बाटामा बेवारिसे अवस्थामा राखिएको १९० थान काठको ढ्याप(फ्लेक) र २४ थान कडी(लामो टुक्रा) अपराह्न नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय हुम्लाका प्रमुख नीरज झाले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका काठमध्ये १४१ थान ढ्याप डिभिजन वन कार्यालय सिमकोट ल्याइएको र बाँकी७८ थान काठ खार्पुनाथ प्रहरीचौकीको जिम्मामा छाडिएको बताइएको छ । काठधनीले अहिलेसम्म दावी नगरेको प्रमुख झाले बताउनुभयो । बरामद गरिएका काठ सबै सिमकोटमा पुगेपछि मुचुल्का उठाई १५ दिने दावी विरोधका लागि सूचना निकालिने छ । पन्ध्र दिनसम्म कोही सम्पर्कमा नआएको वन ऐनअनुसार अगाडि बढ्ने डिभिजन वन कार्यालय हुम्लाले जनाएको छ ।
एक सय ९० ढ्याप काठ २ क्युफिटको दरले ३८० क्युफिट रहेको छ । गाउँघरको मूल्य प्रतिक्युफिट रु एक हजार दुई सय छ ।

प्रतिक्रिया दिनुहोस