‘तीन सरकारबीच पर्याप्त समन्वय भएन’


सङ्घीय सरकार र प्रदेश सरकारले स्थानीय तहसँग पर्याप्त समन्वय नगरेको आज यहाँ आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घले आयोजना गरेको ‘भर्चुअल पत्रकार सम्मेलन’ मा महासङ्का पदाधिकारीले संविधानमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय, सहकार्य र सहअस्तित्व हुने उल्लेख भए पनि समन्वय कम भएको भन्दै त्यसलाई बढाउनुपर्नेमा जोड दिए ।

महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले कोभिड–१९ नियन्त्रणका लागि बजेट सङ्घीय सरकारसँग भए पनि उसले स्थानीय सरकारसँगको समन्वयमा थोरै स्थानमा मात्रै क्वारेन्टिन निर्माण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका आफैँले यसको नियन्त्रणका लागि सकेसम्मका काम गरिरहेका छन् ।” संविधानअनुसार गाउँपालिकामा विभिन्न किसिमका अधिकार पाएपछि यसले कम स्थानीय स्तरका लगानीमा धेरै परिणाम दिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अझै पनि धेरै गाउँपालिकाको केन्द्रमा सडक नपुगेको र पुगेका पालिकाहरुमा पनि माटे सडक भएकाले केन्द्रसम्म कालोपत्रे सडक पु¥याउने कार्यक्रम अघि बढाउनुपर्नेमा उहाँको जोड छ । उहाँले भन्नुभयो, “यसका लागि सङ्घले बजेट पनि छुट्टाएको छ ।”

महासङ्घका महासचिव वंशीलाल तामाङले अझै पनि एक तिहाइ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यसम्पादनमा समस्या परेको बताउनुभयो । उहाँका अनुसार सङ्घीय सरकारले प्रमुख पठाएका स्थानमा पनि भर्खर बढुवा भएका वा यसअघि विकासे अड्डामा काम गरेको अनुभव नभएका व्यक्ति छन् । विकासका लागि राजनीति गरे पनि विकासमा राजनीति गर्न नहुने उहाँको धारणा छ । –– रस

प्रतिक्रिया दिनुहोस