‘आधुनिक कृषि प्रविधिमा जोड दिनुपर्ने’


वागमती प्रदेशका भूमि तथा कृषि सहकारी मन्त्री दावादोर्जे लामाले नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रको उत्पादकत्व बढाउन आधुनिक प्रविधिमा जोड दिनुपर्ने बताउनुभएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालद्वारा आज हेटौँडामा आयोजित खाद्य स्वच्छतासम्बन्धी उपभोक्ता सचेतना एकदिने गोष्ठी कार्यक्रमको आज उद्घाटन गर्दे उहाँले बेरोजगारी हटाउनका लागि कृषि उत्पादकत्व बढाउन र खाद्यान्नमा आत्मनिर्भर गराउन सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।

स्वस्थ जीवनका लागि खाद्य स्वच्छता आवश्यक रहेको उल्लेख गर्दै उहाँले खाद्य स्वच्छताका लागि सरकारी, निजी क्षेत्र र कृषकवर्ग लाग्नुपर्नेमा जोड दिनुभयो । विषालु खाद्यान्न उत्पादन नगरी जैविक कृषि उत्पादनमा लाग्नुपर्नेमा जोड दिँदै कृषकको हकहितमा वर्तमान प्रदेश सरकार लागेको उहाँले विश्वास व्यक्त गर्नुभयो ।

उपभोक्ता हक हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति वानियाले विषाक्त र दूषित खाद्यान्न तथा कृषि उत्पादन रोक्नुपर्ने तथा गुणस्तरीय उत्पादनमा सरोकारवालाले जोड दिनुपर्ने बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस