सालको पात बेच्ने ‘भाइरल ७८ वर्षीया आमा’लाई सहयोग


‘बाह्र छोरा तेह्र नाति, बुढाको धोक्रो काँधै माथि’ भन्ने नेपाली उखान निकै प्रचलित छ । यो उखान तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार बस्ने ७८ वर्षीया नन्दकुमारी दवाडीलाई पनि ठ्याक्कै मेल खान्छ ।

उहाँका १५ छोरा जन्मिए । १४ छोरा सानैमा बिते । बाँचेको एउटा छोराले पनि उहाँलाई हेरविचार गर्दैनन् । विवाह गरेपछि ससुरालितिरै बसे । दुःखसुख गरेर हुर्काएको छोराले पनि नहेरेपछि आराम गर्ने बेलामा उहाँ दमौली बजार आसपास सालको पात बेच्न हिँड्नुहुन्छ । “बचेको एउटामात्र छोरा थियो, त्यही पनि ससुरालितिर बस्छ”, उहाँले भन्नुभयो, “गुजारा गर्न सालको पात बेच्छु ।”

तनहुँको दमौली बजारमा सालको पात बिक्रीका लागि आउनुभएकी ऋषिङ गाउँपालिका–१ झापुटारकी नन्दमाया दवाडी । उहाँले विगत केही वर्षदेखि दमौलीमा सालको पात बेच्दै आउनुभएको छ । तस्बिर ः कृष्ण न्यौपाने÷ रासस

व्यास नगरपालिका–४ स्थित कालिका जङ्गलमा दुई तीन घण्टा लगाएर सालको पात टिप्ने अनि बजारमा ल्याएर बिक्री गर्ने उहाँको दैनिकी हो । दिनमा तीनचारवटा मुट्ठासम्म पात बिक्री गर्ने गरेको उहाँले जानकारी दिनुभयो । “दिनभर दमौली बजारमा विभिन्न ठाउँमा जान्छु, एउटा मुठोको रु ५० सम्म बिक्री हुन्छ”, उहाँले भन्नुभयो ।

फेसबुकमा देखेपछि सहयोग

दवाडीका बारेमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष वसुन्धरा घर्तीले सामाजिक सञ्जालमा फेसबुकमा तस्बिर पोष्ट गर्नुभएपछि उहाँलाई सहयोग जुटेको छ । ग्रिन क्लिन आशिका फाउन्डेसनमार्फत दवाडीलाई दुई बोरा चामल, दाल, नुन, तेल, चियापत्तीलगायत पकाउने भाँडाकँुडा सहयोग गरिएको छ ।

उक्त सामग्री फाउन्डेसनका उपाध्यक्ष सन्दीप बस्नेतले शुक्रबार सहयोग सामग्री दवाडीलाई हस्तान्तरण गर्नुभयो । सामाजिक अभियन्ता, नर्स एवं कलाकार आशिका तामाङ अध्यक्ष रहेको फाउन्डेसनले प्रत्येक महिना देशका विभिन्न स्थानमा आवश्यक पर्नेलाई सहयोग गर्दै आइरहेको छ । दशैँको पूर्वसन्ध्यामा खाद्यान्नलगायत सामग्री पाएपछि दवाडी खुशी हुनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस