याङवरकको डिजिटल यात्रा


पाँचथर, ४ कात्तिक । पाँचथरको याङवरक गाउँपालिका–४ थर्पू बजारमा सञ्चार तथा प्रविधिसम्बन्धी व्यवसाय गर्ने सुमन अधिकारीको पहलमा उक्त क्षेत्रमा नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी टेकमाइन्डको सेवा केही महिना अघिबाट सञ्चालनमा आयो । यसअघि यहाँ एडिएसएल, सुविसु, वल्र्डलिङ्कलगायतका कम्पनीले सेवा प्रदान गर्दै आए पनि स्थानीयवासी सन्तुष्ट थिएनन् । सबै सेवा प्रदायकको सेवाको गुणस्तर भने कमजोर रहेको स्थानीयको गुनासो छ । कहिले सबै कम्पनीको सेवा प्रभावकारी हुन्छ भने कहिले इन्टरनेटको पहुँच नै नभएजस्तो अनुभूति गर्छन् स्थानीयवासी ।

इन्टरनेट सेवा कमजोर रहेको थर्पू बजारमै सेवा केन्द्र रहेको याङवरक गाउँपालिका भने गाउँपालिकाअन्तर्गतका सेवा प्रवाहलाई क्रमशः अनलाइन प्रणालीमा रुपान्तरण गर्दै डिजिटल गाउँपालिका निर्माणको अभियानमा अघि बढ्दैछ । याङवरकले विभिन्न १० वटा सेवालाई अनलाइन प्रणालीमा लैजादै डिजिटल गाउँपालिका निर्माणको आधार तयार पारेको हो । इन्टरनेटको कमजोर पहुँचका अतिरिक्त भौगोलिक कठिनाई, विद्युतीय सामग्री व्यवस्थापन अभाव तथा दक्ष प्राविधिक जनशक्तिको अभाव जस्ता समस्यासँग जुध्दै डिजिटल गाउँपालिका र अनलाइन सेवा प्रवाह प्रणाली निर्माण अभियानलाई सार्थकता दिन कर्मचारी, प्राविधिक र जनप्रतिनिधिहरु मेहनत गरिरहेका छन् । परिणामतः गाउँपालिकामा कार्यालयको आन्तरिक प्रणाली, सेवा प्रवाह र विकास निर्माणका काममा प्रविधिको अधिकतम प्रयोग पनि बढ्दै गएको छ ।

यो गाउँपालिकाले विसं २०७४ बाटै ब्यक्तिगत घटना दर्ता सेवा पूर्ण रुपमा अनलाइन प्रणालीमा लगेको छ । याङवरक २०७४ माघ २९ गते मुलुकको सातौँ अनलाइन घटना दर्ता गाउँपालिका घोषित भएको थियो । सोही समयदेखि नै गाउँपालिकाका छवटै वडाबाट ब्यक्तिगत घटना दर्तालाई पूर्णरुपमा अनलाइन बनाइएको गाउँपालिकाका कम्प्युटर अपरेटर गणेश खतिवडाले जानकारी दिनुभयो ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकबाट सामाजिक सुरक्षा भत्तालाई पूर्ण रुपमा अनलाइन प्रणालीमा लगिएको छ । वडा नं ४, ५ र ६ मा आर्थिक वर्ष २०७४÷०७५ को दोश्रो चौमासिकबाट उक्त प्रणाली लागू गरिएकामा बाँकी तीन वटा वडामा चालू चौमासिकमा लागू गरिएको हो । गाउँपालिकाको विद्युतीय सेवा प्रणाली कार्यान्वयन रणनीतिअनुसार याङवरक–४ थर्पूमा रहेको सिभिल बैंकको शाखासँग गाउँपालिकाले बैङ्किङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार भत्ता प्राप्त गर्ने लाभग्राहीहरुमध्ये करीब ९८ प्रतिशतको बैंक खाता सञ्चालनमा आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणी आचार्यका अनुसार बैंकले वडाहरुमा भत्ता वितरण शिविर सञ्चालन गर्नेछ । यसका लागि गाउँपालिकाको सहयोग उपलब्ध गराउने छ । शिविरमा भत्ता प्राप्त गर्ने ब्यक्तिहरु उपस्थित हुन नसके इच्छाइएको ब्यक्तिले भत्ता बुझ्न सक्नेछन् ।

याङवरकमा अनलाइन जन्मदर्ता प्रणाली ‘बर्थ रजिष्ट्रेसन सिस्टम’ (बीआरएस) पनि लागू भएको छ । यो प्रणालीअन्तर्गत बर्थिङ सेन्टरमा जन्मिएका शिशुहरुको जन्मसम्बन्धी विवरण राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा अनलाइन दर्ता गरी प्रमाणपत्र दिइन्छ । बच्चा जन्मेपछि जन्मको तथा आमाबुबाको विवरण भर्ने गरिन्छ । विवरण भरेपछि उक्त बच्चाले एउटा नम्बर प्राप्त गर्दछ । त्यही नम्बरका आधारमा जन्मदर्ताको प्रमाणपत्र उपलब्ध गराइन्छ । राष्ट्रिय परिचपयत्र कार्यान्वयनमा आएपछि बीआरएस प्रणाली अनिवार्य हुनुपर्ने देखिए पनि याङवरकले गत साउनबाट उक्त प्रणाली कार्यान्वयनमा ल्याएको हो । याङवरकमा रहेका पाँच वटा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर रहेको र यी सबै स्थानमा बीआरएस प्रणाली लागू भएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले जानकारी दिनुभयो ।

राजश्व सङ्कलन बढाउने तथा चुहावट रोक्ने उद्देश्यले गाउँपालिकाले राजश्व सङ्कलनको कामलाई अनलाइन प्रणालीमा लगेको छ । गाउँपालिकाभित्र राजश्व सङ्कलनका लागि हुने सबै कामको विवरण अनलाइन प्रणालीमा दर्ता गरिन्छ । राजश्व योग्य प्रत्येक दर्ता चलानीबारे सफ्टवेयरमा अपडेट गर्नेवित्तिकै राजश्व दाखिलासम्बन्धी जानकारी सफ्टवेयरमा सुरक्षित हुन्छ र त्यो संशोधन गर्न मिल्दैन । आफ्नै खर्चमा यो सफ्टवेयर निर्माण गरी गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो । गाउँपालिका प्रशासनले दैनिक रुपमा राजश्व सङ्कलनको अवस्था थाहा पाउन सक्ने कम्प्युटर अपरेटर खतिवडाको भनाई छ । यो प्रणाली गत साउनबाट कार्यान्वयनमा आएको हो ।

गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र तथा अपाङ्गता परिचयपत्र समेत अनलाइन प्रणालीबाटै तयार पार्ने गरेको छ । गाउँपालिकाको सफ्टवेयरमा दर्ता भएपछि परिचयपत्र छपाई हुनुका साथै उनीहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने भए सो सम्बन्धी विस्तृत विवरण यहाँ रहन्छ । गाउँपालिकाका उपाध्यक्षको नेतृत्वमा रहेको अपाङ्गता समन्वय समितिको सिफारिसपछि अपाङ्गता परिचयपत्र तयार हुन्छ भने ज्येष्ठ नागरिक परिचयपत्र सम्बन्धित सेवाग्राहीको निवेदनपछि तयार हुन्छ ।

याङवरक गाउँ कार्यपालिकाको कार्यालयमा डिजिटल सूचना पार्टी राखिएको छ । गत चैतबाट सञ्चालनमा आएको उक्त सूचना पार्टीमा गाउँपालिकासँग सम्बन्धित सम्पूर्ण जानकारीमूलक विवरणहरु, गाउँपालिकाबाट प्रवाह हुने सेवा, सेवा दिने इकाई तथा कर्मचारी, गुनासो राख्ने स्थान तथा कर्मचारी लगायत विस्तृत विवरण राखिएको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, कर्मचारीहरु लगायतको सम्पर्क नम्बर पनि डिजिटल सूचना पार्टीमा प्रकाशन हुन्छ ।

गाउँपालिकाको मुख्य चापको रुपमा रहने विकास निर्माणका योजना सञ्चालनका कामलाई पनि अनलाइन प्रणालीमा रुपान्तरण गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार उपभोक्ता समितिका विवरणहरु, वडाले उपभोक्ता समितिलाई दिने सम्झौताको सिफारिस, गाउँपालिकाको योजना शाखाले उठाउने टिप्पणी, योजना सम्झौता र सञ्चालन कार्यादेश, पेश्की दिनुपर्ने भएको सोको टिप्पणी, पेश्कीको पत्र, रनिङ विलहरु लगायत सबै कुरा सफ्टवेयरमा दर्ता हुन्छन् । यसले योजनाहरुको प्रगति थाहा पाउन, रिपोर्टिङ गर्न र कर्मचारी तथा प्राविधिकलाई कामको भार कम गर्न मद्दत गर्दछ । योजनाको एक पक्रिया पूरा भएपछि अर्को प्रक्रियामा जान सफ्टवेयरले मद्दत गर्ने कम्प्युटर अपरेटर खतिवडाको भनाई छ ।

गाउँपालिकाले गाउँपालिकाअन्तर्गतका निकायहरुमा इ–हाजिरीलाई विस्तार गर्दै लगेको छ । गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु र सातवटै स्वास्थ्य संस्थाहरुमा इ–हाजिरी सञ्चालनमा आएको छ । यस्तै १८ वटा विद्यालयमा इ–हाजिरी सञ्चालनमा आएको र अन्य विद्यालयमा निरन्तर विस्तारको क्रममा रहेको गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले मातहतका निकायमा अनलाइन पत्राचार प्रणाली र ‘ग्रुप एसएमएस’ प्रणाली लागू गरेको छ । अनावाश्यक पत्र लेख्ने, पु¥याउने झन्झटबाट मुक्त हुन उक्त प्रणाली सहयोगीसिद्ध भएको कम्प्युटर अपरेटर खतिवडाले बताउनुभयो । याङवरकमा कर्मचारी अभिलेख सूचना प्रणाली समेत कार्यान्वयनमा ल्याइएको छ । कर्मचारीका पूर्ण विवरण राखी नियुक्तिदेखि अवकाससम्मको विस्तृत विवरण अनलाइन प्रणालीमा सुरक्षित गरिएको छ ।

गाउँपालिकाले विद्यालय सफ्टवेयर सञ्चालनमा ल्याउने तयारी गरेको छ । उक्त सफ्टवेयर आगामी तिहारसम्ममा कार्यान्वयनमा आउने प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताउनुभयो । उहाँका अनुसार विद्यालय सफ्टवेयरमा विद्यालयका सम्पूर्ण प्रशासनिक कागजात, विद्यार्थीसम्बन्धी विवरणहरु, लब्धाङ्कपत्र लगायत कागजातहरु राखिनेछन् । यसले विद्यालय प्रशासन र गाउँपालिकाको शिक्षा शाखालाई काम गर्न सहज बनाउने आचार्यको भनाइ छ ।

गाउँपालिकाले प्राविधिक स्टिमेट र विलिङलाई अनलाइन बनाउने प्रणालीको खोजी शुरु गरेको छ । प्रमुख प्रशासकीय अधिकृत आचार्यका अनुसार प्रत्येक योजनाहरुको प्राविधिक स्टिमेट तयार भएपछि त्यसलाई अनलाइनमा राख्ने र त्यसैका आधारमा योजना कार्यान्वयन गर्ने कुराले अनावाश्यक विवाद उत्पन्न हुने, योजना परिवर्तन गर्नुपर्ने जस्ता समस्या हल हुने अपेक्षा गरिएको छ । “यससम्बन्धी सफ्टवेयरको खोजीमा छौँ । प्राप्त भए प्रयोगमा ल्याउछौँ”, आचार्यले भन्नुभयो ।

दशवटा अनलाइन प्रणाली लागू भए पनि तिनको प्रभावकारी कार्यान्वयन र निरन्तरतामा गाउँपालिकाले ठूलै चुनौती झेल्दै आएको छ । याङवरकमा एडिएसएल, सुविसु, वल्र्डलिङ्क र टेकमाइन्ड इन्टरनेट जडान गरिएका छन् । भौगोलिक अवस्थाका कारण कुनै पनि सेवा प्रदायकको सेवा प्रभावकारी र नियमित नहुँदा सेवाग्राहीले मार भोग्नु परेको प्रमुख प्रशासकीय अधिकृत आचार्यको भनाई छ । “अनलाइन प्रणालीमा गए पनि इन्टरनेटले राम्रोसँग काम नगर्दा सेवाग्राहीले दुःख पाउने अवस्था छ”, आचार्यले भन्नुभयो, “हामीले हाम्रा सबै जनशक्तिलाई अनलाइन सेवा प्रदान गर्न सक्षम बनाउनुपर्ने बाध्यता समेत छ ।” गाउँ कार्यपालिकाको कार्यालयमा यन्त्र उपकरणको समस्या नभए पनि वडा कार्यालयहरुमा पर्याप्त उपकरण नहुँदा एउटामा समस्या आए वैकल्पिक प्रयोग गर्नसक्ने अवस्था छैन । इन्टरनेट, जनशक्ति र उपकरणलाई क्रमशः सवल बनाइने आचार्यले बताउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष कमलकुमारी योङहाङ डिजिटल गाउँपालिका निर्माणको अभियान रफ्तारमा अगाडि बढे पनि अनलाइन सेवालाई प्रभावकारी बनाउने, इन्टरनेट सेवाको पहुँच वडा नं १, २ र ३ मा विस्तार गर्ने कार्य चुनौतीपूर्ण रहेको बताउनुभयो । उहाँले चुनौतीहरु रहे पनि डिजिटल गाउँपालिका निर्माणको अभियान अघि बढिरहने बताउनुभयो । “विशेषतः इन्टरनेट सेवाको पहुँच विस्तारका लागि माथिल्ला निकायको सहयोग खोजिरहेका छौँ”, योङहाङले भन्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस