वाग्मती प्रदेशको चाडपर्व लक्षित सुरक्षा योजना


वाग्मती, ४ कात्तिक । प्रदेश प्रहरी कार्यालयले नजिकिँदै गएको बडादशैँलगायत अन्य चाडपर्वलाई लक्षित गरी थप व्यवस्थित सुरक्षा योजना अघि बढाएको छ । बडादशैँ, तिहार, नेपाल संवत्, ल्होसार, छठलगायत पर्वमा हुन सक्ने सम्भावित चोरी ठगी तथा अपराधिक क्रियाकलापलाई निरुत्साहित पर्ने उद्देश्यले चाडपर्व लक्षित सुरक्षा योजना अघि बढाइएको हो । जसका लागि प्रदेशका १० जिल्ला (काठमाडौँ ललितपुर र भक्तपुरबाहेक) प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटलाई चुस्तदुरुस्त बनाइएको प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक सुदीप गिरीले जानकारी दिनुभयो ।

प्रदेश प्रहरी कार्यालय मातहत रहेका सबै जिल्ला प्रहरी कार्यालय, सबै ट्राफिक प्रहरी कार्यालय र दङ्गा प्रहरी गण कार्यालयसहित सबै प्रहरी युनिट शान्ति सुरक्षा कायम गर्न जिम्मेवारी दिइएको छ । प्रदेशका १० वटा जिल्लामा चाडपर्व लक्षित गरी करिब थप ३०० सुरक्षाकर्मी जिल्ला÷जिल्लामा पठाइसकिएको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ । सबै जिल्ला र आवश्यकताका आधारमा विभिन्न स्थानमा यात्रु सहायता कक्षको स्थापनासमेत गरिएको हो ।

उक्त सुरक्षा योजनाअन्तर्गत चोरी ठगीलगायत आपराधिक क्रियाकलाप नियन्त्रण, सार्वजनिक सवारी साधनमा निर्धारित भाडादर लागू भए नभएको अनुगमन, राजमार्गमा हुन सक्ने दुर्घटना न्यूनीकरण र समयमै उद्धार गरिनेजस्ता योजना छन् । वाग्मती प्रदेश प्रहरी कार्यालय मातहतका सबै प्रहरी युनिटमा गरी करिब चार हजार ५०० सुरक्षाकर्मी कार्यरत रहेको प्रदेश प्रहरी कार्यालय, वाग्मतीले जनाएको छ ।

कोरोना बिरामी बोक्ने एम्बुलेन्स चालकलाई थप प्रोत्साहन भत्ता

वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाका एम्बुलेन्स चालकले कोभिडका बिरामी बोकेबापत थप प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा आज प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षमा भएको जिल्ला एम्बुलेन्स सञ्चालन तथा समन्वय समितिको बैठकबाट यस्तो निर्णय भएको हो ।

मकवानपुरबाट काठमाडौँ बिरामी लिएर जाने चालकलाई थप रु एक हजार र चितवन जाने चालकलाई थप रु ५०० साविकको भाडा दरमा थप गरी लिनेसक्ने गरी निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । सो थप गरिएको प्रोत्साहनबापतको रकम कोभिडका बिरामी बोकका एम्बुलेन्स चालकले मात्र लिन पाउने छन् । साविककै भाडादर कायम रहने गरी कोभिडका बिरामी बोकेबापत चालकले थप प्रोत्साहन भत्ता भाडादरमा जोडेर लिन पाउने गरी निर्णय गरिएको हो ।

बैठकमा सहभागी जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले कोभिडका बिरामी बोक्ने एम्बुलेन्स चालकको समस्यालाई मध्यनजर गर्दै प्रोत्साहन भत्ता लिन सक्ने गरी निर्णय गरिएको जानकारी दिनुभयो । जोखमको असहज परिस्थितिलाई मध्यनगर गर्दै भएको सो निर्णयले एम्बुलेन्स चालकलाई ऊर्जा मिलेको एम्बुलेन्स चालक सङ्घका सचिव राजु मुक्तानले जानकारी दिनुभयो ।

समितिको यसअगावैको निर्णयअनुसार हेटौँडाबाट काठमाडौँ रु सात हजार ५००, हेटौँडाबाट चितवन रु तीन हजार, हेटौँडाबाट वीरगञ्ज रु दुई हजार, हेटौँडा बजार चार किल्लाभित्र रु ३०० र नगर बाहिर रु ३०० सहित प्रतिकिलोमिटर रु २५ मूल्य निर्धारण गरिएको थियो । यस जिल्लामा कूल ३१ वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस