घुम्ती शिविरमार्फत १०४ अपाङ्गता भएकाले पाए परिचयपत्र


भोजपुर, ४ कात्तिक । पौवादुङमा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । शारीरिकरुपमा असक्त नागरिकलाई गाउँ, टोलस्तरमा पुगेर सेवा दिने लक्ष्यका साथ शिविर सञ्चालन गरिएको हो । गाउँपालिकाको सबै वडामा सञ्चालन गरिएको शिविरमार्फत उहाँहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

शिविरमार्फत ‘क’ वर्गका १२, ‘ख’ वर्गका २२, ‘ग’ वर्गका ३९ र ‘घ’ वर्गका ३१ जनालाई परिचयपत्र वितरण गरेको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो । उपाध्यक्ष राईले भन्नुभयो, “आफ्ना नागरिकलाई उहाँहरुलाई सहज हुने स्थानमा गएर सेवा दिने लक्ष्यका साथ हामीले अभियान सञ्चालन गरेका हौँ, अभियानअन्तर्गत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेका छौँ ।”

परिचयपत्र नभएका कारण राज्यले प्रदान गर्ने सेवा सुविधाबाट कोही नागरिक वञ्चित नबनून् भनेर सबै वडामा अभियान सञ्चालन गरेको उपाध्यक्ष राईले जानकारी दिनभयो । “कतिपय नागरिक अपाङ्गता परिचयपत्र नहुँदा राज्यले दिएको सेवा लिनबाट समेत वञ्चित हुनुहुन्थ्यो, उहाँहरुलाई कार्यालयसम्म आउनलाई पनि धेरै समस्या हुने भएकाले हामीले स्थानीयस्तरसम्म पुगेर परिचयपत्र वितरण गरेका हौँ”, उपाध्यक्ष राईले भन्नुभयो ।

गाउँपालिकाले नागरिकको स्वास्थ्य, शिक्षालगायत पक्षमा समेत काम गरिरहेको गाउँपालिकाले जनाएको छ । यसअघिका दिनमा जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा घुम्ती शिविरमार्फत नागरिकतासमेत वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “हामीले नागरिकलाई घरदैलोमा पुगेर सेवा दिने लक्ष्यका साथ विभिन्न अभियान सञ्चालन गरिरहेका छौँ, भर्खरै अपाङ्गता परिचयपत्र वितरणको अभियान सम्पन्न भयो, यसले स्थानीय सरकारले नागरिकको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग गरेको छ ।” आफ्नै गाउँघरमा राज्यको सेवा लिन पाउँदा स्थानीयवासी खुशी भएका छन् । गाउँपालिकाका प्रत्येक वडालाई केन्द्र बनाएर परिचयपत्र वितरण गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस