लामो झरनाको प्रवेशद्वारमा स्वागत गेट निर्माण


पर्यटन प्रवद्र्धनका लागि चितवनको इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित लामो झरना प्रवेश गर्ने प्रवेशद्वारमा स्वागत गेट निर्माण गरिएको छ ।

वाग्मती प्रदेश सरकारको लगानीमा स्वागत गेट निर्माण गरिएको हो । वाग्मती प्रदेश सरकारले पर्यटन आयोजना कार्यालय हेटौँडामार्फत आर्थिक वर्ष २०७६÷७७ मा पूर्वाधार निर्माणका लागि रु २५ लाख बजेट उपलब्ध भएको थियो । सोही बजेटले यसअघि भ्यूटावरसहितको गोलोघर र झरनासम्म जाने सिँढीबाटो निर्माण गरिसकेको छ । बाँकी रु सात लाखले स्वागतद्वारमा गेट निर्माण गरिएको लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो ।

प्रदेश सरकारको रु २५ लाख र स्थानीयवासीको सात लाख श्रमदान गरी रु ३२ लाखको लागतमा भ्यूटावरसहितको गोलोघर, बाटोमा सिँढी र स्वागत गेट निर्माण गरिएको उहाँको भनाइ छ । अब तत्काल टिकट काउन्टर निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो । टिकट काउन्टर निर्माणका लागि पनि पहल भइरहेको उहाँको भनाइ छ ।

यो झरना अवलोकनका लागि वर्षेनी हजारौँ आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन् । यस्तै झरना अवलोकनका लागि आउनेसँग प्रवेश शुल्कवापत मात्रै वार्षिक रु १५ लाखदेखि २० लाखसम्म आम्दानी हुने गर्र्छ । गत आवमा मात्र टिकटबाट आम्दानी भएको रु १७ लाख गाउँपालिकालाई समितिले बुझाएको छ । यहाँ प्रवेश गर्न नेपाली पर्यटकलाई रु ५० र विदेशीका लागि रु १०० शुल्क लिने गरिएको छ भने क्यानोनिङका लागि नेपालीलाई रु १०० र विदेशीलाई प्रतिव्यक्ति रु ५०० लिने गरिएको छ ।

चितवनमा पहिचान भएका पर्यटकीय गन्तव्यस्थलमध्ये लामो झरना पनि उत्कृष्ट गन्तव्यभित्र पर्छ । १०२ मिटर लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ । सुन्दर प्राकृतिक मनोरम दृश्य तथा लामो छाँगोबाट झरेको पानीको फोहरा र त्यसबाट आउने शीतल पानीका कण र चिसो हावाको स्पर्शले पर्यटकको मन लोभ्याइदिन्छ । झरनामा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत मुग्लिनबाट सात किलोमिटर नारायणगढतर्फ जलवीरेबाट आधा घण्टा हिँडेर वा सवारी साधनबाटै पनि पुग्न सकिन्छ ।

क्यानोनिङ (छाँगारोहण) र क्लाइम्बिङ, स्वीमिङ, स्लाइडिङ, जम्पिङ र हाइकिङ गर्न देश तथा विदेशबाट यहाँ पर्यटक आउने गरेको समितिका अध्यक्ष गुरुङको भनाइ छ । यसैबीच कोरोनाका कारण यसअघि बन्द गरिएको झरना प्रवेशका लागि खुला गरिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस