खेतको बाटो हुँदै नेपाली उपभोक्ता भारतीय बजारमा


–मोहन पौडेल

दशै शुरुभएसँगै नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम)को सिमासँग जोडिएका भारतीय बजारमा नेपालीको आवातजावत बाक्लिएको छ । कोभिड १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सरकारले मुख्य नाका बन्द गरेपनि सहायक बाटो र खेतको बाटो भएर नेपालीहरू किनमेलका लागि भारतीय बजार गईरहेका हुन् ।
सस्तो मूल्यमा दैनिक उपभोग्यका सामानलगायत चाडपर्वका लागि आवश्यक किनमेल गर्न नेपालीहरू कोरोना महामारीको जोखिमलाई समेत बेवास्ता गर्दै भारतीय बजार पुग्ने गरेका हुन् । सिमानासँग जोडिएका नजिकका भारतीय बजारमा अहिले किनमेल गर्ने नेपालीको घुईचो लाग्ने गरेको छ ।

सामान किन्न, औषधोपचार गर्न तथा नाता सम्बन्धका कारण सिमा क्षेत्रका बासिन्दा दैनिकजसो निस्फिक्री ओहोरदोहोर गर्ने गरेका हुन् । चाडपर्वमा लत्ताकपडा तथा दैनिक उपभोग्य सामान किन्न ,जिल्लाको सुनवल, बर्दघाट, भूमही, परासीसहित नवलपुर र नारायणगढबाट सवारीसाधन रिर्जभ गरी मानिसहरू किनमेलका लागि भारतीय बजार ठुटीबारी जाने गरेको सिमा क्षेत्र महेशपुरका पत्रकार धु्रवनारायण बानिया बताउनुहुन्छ ।

मुख्य नाका महेशपुरबाट ओहोरदोहोर गर्न नपाएपनि नजिकैका खेतको बाटो हुँदै मानिसहरूको बाक्लो आवातजावत भइरहेको छ । खेतको बाटो प्रयोग गर्दा स्थानीयवासीले लगाएको धानबालीसमेत नष्ट भएको छ । खेतलाई बाटोको रूपमा प्रयोग गर्दा आफूले लगाएको दुई कठ्ठाको धानखेती नै नष्ट भएको पाल्हीनन्दन–२ का धर्मेन्द केटवको गुनासो छ ।

अहिले सहायक र खेतको बाटो ओहोरदोहोर गर्नेलाई व्यवस्थित गर्न स्थानीयवासी लागिपरेका छन् । टाढाबाट त्यहाँ पुग्ने सर्वसाधारणलाई खेतको बाटो देखाउने र उनीहरूका सवारी साधनको सुरक्षा र पार्किङ्को व्यवस्थापनमा समेत स्थानीय युवाहरू खटिएका हुन् ।

अन्सारी साईकल स्टेण्ड, रबी साईकल स्टेण्डलगायतको नामबाट केही शुल्क लिएर साइकल, मोटरसाइलक, निजी कारलगायत पार्किङ गरेबापत क्रमशः रू १५, रू २५, रू १०० का दरले शुल्क उठाएपनि उनीहरूले सरकारलाई कर भने तिरेका छैनन् । भारतीय बजारमा पुग्नका लागि सहायक र खेतको बाटो पनि उनीहरूले नै देखाउने गरेका छन् ।

शुल्क लिएर पार्किङ गर्न कुनै पनि संस्थालाई स्वीकृति नदिएको भन्दै पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले उक्त कार्य तत्काल रोक्न लगाउने बताउनुहुन्छ । चाडपर्वका कारण भारतीय बजारमा जाने नेपालीलाई सम्झाई बुझाई गर्दा पनि रोक्न नसकिएको उहाँको भनाइ छ । सिमाक्षेत्रबाट भारतीय बजारमा बाक्लो ओहोरदोहोर हुन थालेपछि कोरोनाको जोखिम पनि बढ्दै गएको छ ।

सस्तो पाईने भएकोले चाडपर्वका लागि लत्ताकपडा किन्न भारतीय बजार ठूटीबारी आएको सुनवलकी कल्पना सुनार बताउनुुुहुन्छ । नेपालमा चाडपर्वको उल्लास शुरु हुन नपाउँदै भारतीय बजारमा नेपालीको घुइँचो लाग्न थालेकाले भारतीय ब्यापारी उत्साहित भएका छन् । लामो समयसम्म बन्दाबन्दी पछि खुलेका नेपाली बजारमा सामान महङ्गो रहेको भन्दै नेपाली उपभोक्ता भारतीय बजारमै आकिर्षत भएको उहाँको भनाइ छ ।

जिल्लाको महेशपुर, विष्णुपुरा, रगरगञ्ज, पडरी, भुजहवा, बसहीया, बलिनगर, झुलनीपुरलगायत नाका क्षेत्रमा खेतको बाटो प्रयोग गरेर ओहोरदोहोर गर्नेको सङ्ख्या बढ्दो छ । सस्तो पाइने लोभमा भारतीय बजार गएका नेपाली आफू ठगीएकाको पत्तो नै पाउँदैनन् तर नेपाली बजारमै सस्तो र गुणस्तरीय सामान पाइन्छ भनेर उपभोक्तालाई विश्वास दिलाउन नसक्दा हरेक वर्ष नेपाली भारतीय बजारमा पुग्ने गरेका हुन् ।

भारतीय बजारमा चहलपहल बढ्दै गर्दा नेपाली बजार भने सुनसान जस्तै छन् । चाडपर्व आएपनि अधिकांश नागरिक भारततर्फ जाँदा ब्यापार न्यून रहेको स्थानीय व्यवसायी बताउँछन् । नेपाली उपभोक्ता भारतीय बजारमै निर्भर हुने र सहजै आवातजावत गर्न पाएकोले पनि सिमा क्षेत्र र सदरमुकाम परासी क्षेत्रका व्यवसाय फस्टाउन नसकेको स्थानीयवासी शम्भु उपाध्याय बताउनुहुन्छ ।

भारतमा नेपाली उपभोक्ता कसरी ठगिन्छन् भनेर चेतना जगाउन आवश्यक रहेको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवाली बताउनुहुन्छ । भारतीय व्यापारीले एउटा सामानमा मूल्य घटाएजस्तो देखाएर अन्य सामानबाट नेपालीलाई ठग्ने गरेको उहाँको भनाइ छ । तस्बीर पनि उपलब्ध छ । रासस

प्रतिक्रिया दिनुहोस