आज थप १६ सय ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि, ५६ सय ९९ डिस्चार्ज


पछिल्लो २४ घण्टामा थप एक हजार ६६९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ३२ जनाको नमूना परीक्षण गर्दा थप एक हजार ६६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका हुन् । थपिएका कूल सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्रै ९५७ जना छन् ।

योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार ३०८ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच हजार ६९९ छ । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ रहेको छ । देशैभरी जम्मा सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ९६३ रहेको मन्त्रालयले जनाएको छ ।

सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा ६ हजार ३५१ र होम आइसोलेशनमा १३ हजार ६१२ जना रहेका छन् । मन्त्रालयको नियमित प्रेस व्रिफिङमा आज प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा ं७३३, ललितपुरमा १३१ र भक्तपुरमा ५३ जना रहेको जानकारी दिनुभयो ।

प्रवक्ता डा गौतमले पछिल्लो २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको सङ्ख्या एक लाख ९९ हजार २४ जना छन् ।

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच करोड ८५ लाख ४८ हजार ३ जना पुगेको छ भने निको हुनेको सङ्ख्या चार करोड पाँच लाख १३ हजार १७ जना रहेका छन् ।

०००

मेक्सिकोमा एक दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिए

मेक्सिको शनिबारमा एकैमा दिनमा ६ हजार ७१९ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यसैसँग मेक्सिकोमा कोरोना भाइरस कुल सङ्क्रमितको संख्या १० लाख ३२ हजार ६८८ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा मेक्सिकोमा कोरोना भाइरस सङ्क्रमणको कारण ५५० व्यक्तिको मृत्यु भएको छ । हालसम्म मेक्सिकोमा कोरोना भाइरसको कारण १ लाख १ हजार ३३७ व्यक्तिको मृत्यु भईसकेको छ ।
शनिबारसम्म ७ लाख ७४ हजार ९३० व्यक्ति कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

रिजेनेरोनको एन्टीबडी उपचार पद्धतिलाई अमेरिकामा अनुमति

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइरस उपचारमा प्रयोग गरिएको रोगप्रतिरोधी थेरापी (एन्टीबडी थेरापी) लाई अमेरिकी औषधि नियामक निकायले प्रयोगमा ल्याउन सिफारिस गरेको छ ।

कोरोनाका कारण स्वास्थ्य जोखिम निकै रहेका तर अस्पतालमा भर्ना भइ नसकेका बिरामीमा यो उपचार विधि प्रयोग गर्न अनुमति दिइएको हो ।

औषधि निर्माता रिजेनेरोनले तयार पारेको रिजेन–कोभ२ नामको औषधिले कोभिड–१९ सँग सम्बन्धित अस्पताल भर्नालाई रोक्न वा न्यून गर्न निकै उपयोगी देखिएको छ । अन्य रोगका कारण समस्यामा परिरहेका बिरामीलाई पनि यो औषधि उपयोगी हुनेछ ।

अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए) का आयुक्त स्टेफेन हानले रिजेन–कोभ२ औषधि सेवन गर्ने कोभिड–१९ बाट संक्रमित व्यक्तिले हत्तपत्त अस्पताल भर्ना वा अस्पताल गइहाल्नु नपर्ने देखिएको जानकारी दिनुभयो । उहाँले स्वास्थ्य सेवा प्रणालीमाथिको अतिरिक्त दबाब कम गर्न पनि यो औषधि निकै उपयोगी रहेको बताउनुभयो ।

रिजेनेरोनका अध्यक्ष एवं प्रमुख कार्यकारी लियोनार्ड स्लाइफरले यो कदम कोभिड–१९ बिरुद्ध लड्न एउटा महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । कोभिड–१९ का कारण उच्च स्वास्थ्य जोखिममा रहने बिरामीले आफू संक्रमित हुनासाथ यो औषधिको सेवनबाट ठूलो लाभ लिन सक्ने पनि उहाँले बताउनुभयो ।

एन्टीबडी थेरापी उपचारका लागि अनुमति प्राप्त गर्ने अमेरिकाको रिजेनेरोन दोस्रो कम्पनी हो । यसअघि अमेरिकी कम्पनी एली लिल्लीले गत नोभेम्बर ९ मा एन्डीबडी थेरापीका लागि अनुमति पाएको थियो ।

यस औषधिको प्रयोगबाट मानिसको रोगप्रतिरोधी क्षमता स्वाभाविक रुपमा बढ्छ । शरीरमा प्रतिरोधी क्षमता विकास गर्न प्राकृतिक विधिबाट कम मात्र सफलता प्राप्त भएपछि रिजेनेरोन र एली लिल्लीले प्रयोगशालाबाट एन्टीबडी थेरापी उत्पादन गरेका हुन् ।

उनीहरुले सार्स–कोभ–२ (कोभिड–१९) भाइरसको सतहको प्रोटिनलाई नियन्त्रित गरी यसलाई मानिसको शरीरभित्र प्रवेश गर्नबाट रोक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कम्पनीले नोभेम्बरको अन्त्यसम्ममा ८० हजार बिरामीका लागि औषधि तयार गर्ने जनाएको छ । आगामी जनवरी २०२१ को अन्त्यसम्ममा करिब तीन लाख बिरामीले यो औषधि प्राप्त गर्न सक्नेछन् ।

यो औषधि हालका लागि अमेरिकामा मात्र उपलब्ध हुनेछ र सरकारी कार्यक्रम बमोजिम बिरामीले निःशुल्क प्राप्त गर्नेछन् ।

रिजेनेरोनले कोभिड–१९ को औषधि निर्माण गर्न ४५ करोड अमेरिकी डलर आर्थिक सहायता प्राप्त गरेको थियो ।

गत महिना पनि रिजेनेरोनले तयार पारेको इबोला भाइरस विरुद्धको एन्टीबडी औषधिलाई अमेरिकी नियामक निकाय एफडीएले प्रमाणपत्र दिएको थियो ।

प्रतिक्रिया दिनुहोस