थुलुङ दूधकोशी बहुप्राविधिक शिक्षालय सञ्चालन


थुलुङ दूधकोशी बहुप्राविधिक शिक्षालयको आज उद्घाटन गरिएको छ । प्रदेश १ मा छनोट भएका पाँच जिल्लामध्ये कतिपय जिल्लामा जग्गासमेत व्यवस्थापन गर्न नसकिरहेका अवस्थामा थुलुङ गाउँपालिकाले उद्घाटन गरी यसै वर्षदेखि कक्षा सञ्चालन गरेको हो ।

उक्त शिक्षालयको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आज उद्घाटन गर्दै प्रदेश सरकार प्राविधिक र व्यावहारिक शिक्षामा जोड दिई दक्ष जनशक्ति उत्पादनमा केन्द्रित भएको बताउँदै थुलुङ दूधकोशीलाई नगरपालिका बनाउने आधारभूत मापदण्ड पूरा गर्न सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा आन्तरिक योजना तथा अर्थमन्त्री इन्द्र आङ्बोले गाउँपालिकाले सामाजिक सुरक्षा र भौतिक पूर्वाधार निर्माणमा गरेको कार्यको अन्य स्थानीय तहले समेत अनुसरण गर्नुपर्ने बताउनुभयो ।

सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राईले शिक्षा, स्वास्थ्य, सडक र सञ्चारलाई प्रमुख प्राथमिकतामा राखेर जिल्लामा काम भइरहेको जानकारी दिनुभयो । नेकपा प्रदेश नं १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बहुप्राविधिक शिक्षालय थुलुङ दुधकोशी गाउँपालिका र सोलुखुम्बुका लागि मात्र नभई छिमेकी खोटाङ र ओखलढुङ्गासहितका जिल्लाका लागि पनि महत्वपूर्ण रहेको बताउँदै नेलेदेखि गाउँपालिका केन्द्रसम्मको सडक कालोपत्रेका लागि तत्काल काम अगाडि बढाउन माग गर्नुभयो ।

प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेतले अधिकांश विकासमा सडक बाधक बनेकाले अन्तरजिल्ला जोड्ने सडकमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । गाउँपालिका अध्यक्ष असिम राईले गाउँपालिकाले अघि सारेको दिगो विकासको योजना सुनाउँदै थप सहयोगका लागि आग्रह गर्नुभएको थियो । कार्यक्रममा नेकपा सोलुखुम्बुका अध्यक्ष मानवीर राई, जिल्ला समन्वय समितिका प्रमुख वीरकुमार राई, नेचासल्यान गाउँपालिका अध्यक्ष डुफकुमार बाँस्तोला, महाकुलुङ गाउँपालिका अध्यक्ष सागर किराँती र सोलुदूधकुण्ड नगरपालिका उपप्रमुख कल्पना राईले बहुप्राविधिक शिक्षालयले थुलुङ दूधकोशीको मात्र नभई सिंगो जिल्लाको विकास र समृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस