राप्रपा सप्तरीको अध्यक्षमा साह


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि सप्तरीमा आज जिल्ला कमिटीको समायोजन भएको छ ।

आज उपलब्ध जिल्ला कमिटी र केन्द्रीय सदस्यहरुको उपस्थितिमा राजविराजमा बसेको बैठकमा भएको समायोजनपछि उम्देश्वरप्रसाद साहको अध्यक्षतामा जिल्ला कार्य समिति गठन गरिएको केन्द्रीय सदस्य महामायाप्रसाद सिंहले जानकारी दिनुभयो । कार्यसमितिको सहअध्यक्षमा विनोद पाण्डेलाई चयन गरिएको छ ।

बैठकले दुवै राप्रपाको समान ढङ्गले सम्मान हुने गरी समायोजन गर्न जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने केन्द्रीय समिति सदस्यहरुसमेत रहेको जिल्ला कार्यसम्पादन समिति गठन गरेको छ । कार्यसम्पादन समितिले गरेको निर्णय नै जिल्ला समितिले लागू गर्ने निर्णय भएको अध्यक्ष साहले बताउनुभयो ।

साबिकका दुवै पार्टीको कमिटीलाई जिल्ला कार्य समितिमा समायोजन गरिएको छ । कोभिड– १९ को महामारीका कारण स्वास्थ्य सुरक्षा सावधानी अपनाएर निर्वाचन क्षेत्र, गाउँ, नगर र वडा कमिटीलाई समायोजन गरिने सिंहको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस