कोरोना संक्रमणबाट आज थप १६ जनाको मृत्यु


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १३ सय ३७ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १९ सय ८० जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ३४ सय ४३ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख २० हजार ६७ जना रहेको छ ।

०००

अस्ट्राजेनिका/अक्सफोर्डको कोभिड–१९ खोप ७० प्रतिशत सफल

बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले आफूले विकास गरिरहेको कोभिड–१९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ ।

शुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको उक्त खोपको तेस्रो चरणको परीक्षणको तथ्याँक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।

अस्ट्राजेनिकाका प्रमुख कार्यकारी पास्कल सोरिओटले एक वक्तव्य जारी गर्दैै कोभिड–१९ विरुद्धको यस खोप पनि निकै प्रभावकारी तथा सुरक्षित रहेको बताउनुभयो ।

अस्ट्राजेनिकाका खोपको तथ्याँक विश्लेषण गर्दा यो ६२ देखि ९० प्रतिशत सफल रहेको पनि कम्पनीले जनाएको छ ।

अमेरिकी खोप निर्माता कम्पनीहरु फाइजर र मोडर्नाले तयार पारेका खोपहरु ९० प्रतिशतभन्दा बढी सफल रहेका थिए । फाइजर र मोडर्नाका तुलनामा अस्ट्राजेनिकाले तयार पारेको खोपको प्रभाव निकै कम रहेको छ ।

अस्ट्राजेनिकाले आफ्ना खोपहरु वितरणका लागि विभिन्न देशका नियामक निकायहरु समक्ष औपचारिक अनुरोध गर्ने जनाएको छ । साथै विश्व स्वास्थ्य संगठन समक्ष पनि न्यून आय भएका मुलुकमा वितरणका लागि आफ्नो खोपलाई सूचीकृत गर्ने तयारी अस्ट्राजेनिकाले गरेको छ ।

कम्पनीले सन् २०२१ भित्रमा करिब तीन अर्ब डोज उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यो खोपलाई कम्तीमा छ महिनासम्म दुई देखि आठ डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्न, यताउता लैजान सकिने कम्पनीले जनाएको छ ।

जर्मनीमा कोभिड १९ का सङ्क्रमितको सङ्ख्या नौ लाखभन्दा बढी पुग्यो

जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ ।

यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि ९० जनाकोे ज्यान गएको बताएका छन् ।

जर्मनीको स्वास्थ्य मन्त्रालयले यहाँ पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ । जर्मनीमा कोभिडको दोस्रो वेभ आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।

तर यसको यहाँका नागरिकले विरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस