यस वर्षको हरि अभिनव पुरस्कार सुदर्शन श्रेष्ठलाई


ज्योतिष हरिप्रसाद घिमिरेको नाममा स्थापना गरिएको हरि अभिनव पु्रस्कार यस वर्ष साहित्य तथा चलचित्र क्षेत्रमा उत्कृष्ट योगदान गर्ने स्रष्टा सुदर्शन श्रेष्ठलाई प्रदान गरिएको छ ।

अभिनव साहित्य समाजले आज जोरपाटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले नगद रु ३० हजारसहित सम्मान पत्रले श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

हरि अभिनव पुरस्कार ग्रहण गरेपछि आज जोरपाटीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पुरस्कृत स्रष्टा सुदर्शन श्रेष्ठ । तस्वीर ः पूर्णप्रसाद मिश्र, रासस

सो अवसरमा मन्त्री फुयाँलले समाज रुपान्तरणका लागि साहित्यको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । साहित्यसँगसँगै कला र संस्कृतिको विकास विना समृद्ध समाजको परिकल्पना गर्नु निरर्थक भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरु विष्णु प्रभात, विजय चालिसे, समाजका अध्यक्ष गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, कोषाध्यक्ष घनश्याम प्रसाईं, सदस्य विमल अर्याल लगायतले साहित्य तथा चलचित्रको क्षेत्रमा श्रेष्ठको योगदानको चर्चा गर्नुभयो ।

ज्योतिष स्व हरिप्रसाद घिमिरको स्मृतिमा समाजले विसं २०६४ देखि हरि अभिनव पु्रस्कार प्रदान गर्दै आएको छ । हालसम्म यो पुरस्कारबाट संस्कृतिविद् प्राज्ञ जगमान गुरुङ, भाषाविद् प्रा डा माधवप्रसाद पोखरेल, कोषकार वसन्तकुमार शर्मा नेपाल, साहित्यसेवी रमा शर्मा पुरस्कृत भइसक्नुभएको छ ।

हरिप्रसादका सुपुत्र समेत रहनुभएका समाजका अध्यक्ष घिमिरेले रु चार लाखको अक्षयकोष राखी पुरस्कार स्थापना गरेको हो । अक्षय कोषबाट वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट पुरस्कार वितरण गरिँदै आएको सो अवसरमा जानकारी दिइएको थियो ।

आजै भएको समाजको १९औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि निर्विरोध नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य समितिको अध्यक्षमा घिमिरे पुनःनिर्वाचित हुनुभएको छ । उपाध्यक्षमा विमल अर्याल, सचिवमा परशुराम पराजुली पराशर, कोषाध्यक्षमा घनश्याम प्रसाई, सहसचिवमा मेनका आचार्य र सह कोषाध्यक्षमा शारदा पराजुली रहनुभएको छ ।

यसैगरी सदस्यहरुमा सुमन पुडासैनी, विन्दा खतिवडा र आलोक चालिसे चयन हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस