कमला नदीमा भूतमेला,धामीझाँक्री, बो’क्साबो’क्सी र भूतप्रेतबाट पीडितको घुइँचो


सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा आज बिहानैदेखि धामीझाँक्री, बो’क्साबो’क्सी र भूतप्रेतबाट पीडितको घुइँचो लागेको छ । कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्ध हुने जनविश्वासका साथ गाउँगाउँबाट भूतमेला भर्न कमला नदीमा श्रद्धालुको घुइँचो लागेको हो ।

स्थानीय प्रशासनले कोरोना सङ्क्रमणको जोखिम बढ्नसक्ने भन्दै भिडभाड नगर्न निषेधाज्ञा जारी गरे पनि सूर्योदयसँगै आज बिहानैदेखि हजारौँ नवधामीझाँक्रीले कमला नदीमा डुबुल्की लगाई गुरुसँग शपथ लिइरहेका छन् ।

कमला नदी किनारमा भगत (देउता) खेल्नेको घुइँचो लागेको छ । आफ्नो शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबासका लागि कात्तिक पूर्णिमामा स्नान गर्ने प्रचलन रहेको छ । कतिपय कात्तिक पूर्णिमाको पूर्वसन्ध्यामा आइतबार कमला नदीको तटमा पुगेर राति बास बसेका र आज बिहानै कमला नदीमा स्नान गरेका श्रद्धालुले बताएका छन् । कमला नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वासका कारण वर्षेनी सो नदीमा स्नान गर्नेको सङ्ख्या अत्यधिक रहने गरेको छ ।

भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन् । मूलधामीले मन्त्र सिद्धि गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ । तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धिका लागि यस दिन पूर्णाहुति दिने चलन छ । कमला नदीमा आएर शपथ लिएपछि धामीझाँक्री पाको हुने विश्वास गरिन्छ । भारतसहित सिरहा, धनुषा, महोत्तरी, सर्लाही, सप्तरीलगायतका ठाउँबाट लावालस्करका साथ उफ्रँदै आएका धामीझाँक्रीले तन्त्रमन्त्र गरेको दृश्य हेर्न निकै ठूलो भीड लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस