कोरोना संक्रमणबाट आज थप २९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १५ सय नाघ्यो


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा मृतकको संख्या १५ सय ९ पुगेको छ ।

त्यस्तै कोरोना भाइरस कोभिड-१९ बाट आज थप १४ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा १९ सय ३१  जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल सम्म कोरोना संक्रमण निको भएकाहरुको संख्या २ लाख १४ हजार ५२१ जना रहेको छ ।

०००

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघ्यो

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

भारतमा विगत चौबीस घण्टाको अवधिमा थप ३८ हजार ७७२ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको संख्या ९४ लाख नाघेको सो मन्त्रालयले जानकारी दिएको हो ।

हाल भारतमा ९४ लाख ३१ हजार ६९२ जना कोरोना भाइरस संक्रमित रहेका छन् । जसमध्ये ८८ लाख ४७ हजार ६०० व्यक्ति संक्रमणमुक्त भएका छन् । सो मन्त्रालयका अनुसार हाल ४ लाख ४६ हजार ९५२ व्यक्ति अझै पनि सक्रिय संक्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम संक्रमित भेटिएको यो लगातार २३ औं दिन हो ।

भारतमा कोरोना भाइरस संक्रमणबाट २४ घण्टामा थप ४४३ जनाको मृत्यु भएको र यो सहित भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ३७ हजार १३९ पुगेको छ । भारतभरी सव भन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्र, केरला र राजधानी शहर दिल्ली भएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले भारतमा कूल १४ करोड ३ लाख ७९ हजार नमूना परीक्षण गरेको जनाएको छ । हिजो एकै दिनमा ८ लाख ७६ हजार १७३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको समाचारमा जनाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार भारतमा ९३.७१ प्रतिशत कोरोना भाइरसको संक्रमण निको भएको छ ।

प्रतिक्रिया दिनुहोस