कैलालीमा जन्ती चढेको गाडी दुर्घटना, बेहुलाबेहलुीसहित १३ घाइते


धनगढी–डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१००१ज१२५४नं को उक्त गाडी सडकबाट झण्डै २०० मिटर तल खेसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका–३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते हुनुभएको छ । बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनभयो ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कैलाली प्रहरीको टोलीले घाइतेको उद्धार गरी अत्तरियास्थित पद्मा अस्पताल र धनगढीको माया मेट्रो अस्पतामा भर्ना गरेको छ ।

सडक दुर्घटनामा एकको मृत्यु, एक घाइते

महोत्तरी जिल्लाको माईस्थान–गौशाला–सम्सी सडकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सो सडकको गौशाला नगरपालिकाको सुर्ती विकास चोकमा बुधबार राति १० बजे दुर्घटना हुँदा गौशाला–८ का १९ वर्षीय अमर पाचेमगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो ।

राति तीव्र गतिमा हाँकिएको प्रदेश २–०२–००२ प ९३५८ नम्बरको मोटरसाइकल चोकको पार्कमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गौशाला–८ कै १७ वर्षीय युवराज बलम्पाकी घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जानकारी दिनुभयो । घाइते बलम्पाकीलाई प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याइएको प्रहरीले जनाएको छ ।

कम चौडाइ भएको सडकको चारतिर (बर्दिबास, सम्सी, इटाटार र रजखोर) तर्फको सडकबाटो छुट्टिने सो चौरस्ता चोकमा यसअघि पनि बाक्लै दुर्घटना हुँदै आएको छ । राति तीव्र गतिमा हाँकिएको मोटरसाइकल एकतिर मोड्ने क्रममा नियन्त्रण गुमेर पार्कमा ठोक्किन पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ । मृतक पाचेले मोटरसाइकल हाँकेको र बलम्पाकी पछाडिको सिटमा बसेका बुझिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस