प्रदेश १ मा पहिलोपटक निःशुल्क पाठेघर परीक्षण सेवा शुरु


प्रदेश नं १ मा जिल्ला अस्पतालबाट पहिलोपटक पाठेघरको निःशुल्क परीक्षण सेवा शुरु भएको छ । सो सेवा धनकुटाको जिल्ला अस्पतालबाट शुरु भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा जयवेन्द्र यादवले बताउनुभयो । उहाँले सेवा शुरु भएकै दिन सात महिलाको नमूना सङ्कलन गरिएको र एलवीसी प्रविधिबाट पाठेघरको मुखको क्यान्सरको परीक्षण गरिने जानकारी दिनुभयो ।

पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण सेवाको बुधबार उद्घाटन कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले मानिसको जीवनशैलीका कारण क्यान्सर रोगका बिरामी बढ्दै गएको बताउनुभयो । उहाँले पुरुषको तुलनामा महिला बढी क्यान्सरबाट पीडित हुने गरेको भन्दै क्यान्सर रोग न्यूनीकरणका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो ।

जिल्लास्तरबाट सेवा शुरु भएको जानकारी स्थानीयस्तरसम्म पुर्याउन जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलाई आग्रह गर्दै मन्त्री घिमिरेले धनकुटा जिल्ला अस्पताललाई शिक्षण अस्पतालका रुपमा रुपान्तरण गर्ने प्रदेश सरकारले योजना रहेको बताउनुभयो । चालु आर्थिक वर्षभित्रमा धनकुटा जिल्ला अस्पतालाई १०० शय्यासहितको अस्पतालमा स्तरोन्नति गरिने मन्त्री घिमिरे जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस