भारतीय कलाकार रजनीकान्तद्धारा नयाँ पार्टी खोल्ने घोषणा


भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नु भएको छ । विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनु भएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहिबार जानकारी दिनु भएको हो ।

उहाँले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताउनु भएको छ । तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्व सन्ध्यामा उहाँले पार्टी खोल्ने र निर्वाचनमा जाने बताउनु भएको हो ।

“हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौँ, जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्ने छ, त्यस मार्फत हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौँ,” उहाँले भन्नुभयो ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नु अगाडि उहाँले धेरैसँग परामर्श गर्नु भएको थियो ।

“मैले पटक पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरेँ, उहाँहरुको सल्लाह सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ,” उहाँले भन्नु भएको छ । आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गर्नुभयो ।

तमिलनाडुमा सन् २०२१ को अप्रिल देखि मे सम्म विधान सभा निर्वाचन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस