पुस्तक समीक्षा : मन्त्रमय जीवनशैली स्मरण गराउने पुस्तक ‘मन्त्र–विज्ञान’


वैदिक गुरु परम्पराको लुप्त मन्त्रको खोज एवं संरक्षण गरी साधकको आचरणलाई सिद्ध गराउने उद्देश्यले मन्त्रमा हुने वैज्ञानिक पक्षका बारेमा जानकारी दिन मन्त्र–विज्ञान भाग–१ नामक ग्रन्थ सफल देखिन्छ ।

जसले रक्षा र अभिमत पदार्थको प्राप्ति गराउँछ, त्यसलाई मन्त्र भनिने पाञ्चरात्रसंहितामा उल्लेख छ । मन्त्रको परम्परा रहस्यात्मक र अनादि अपौरुषेय श्रुति परम्परासम्म जोडिएको छ । मन्त्र शक्ति सम्पन्न सत्तत्व हो । मन्त्रले व्यक्तिभित्र रहेको आन्तरिक चेतनालाई प्रकट गर्दछ । तन्त्रशास्त्रमा प्रतिपादन गरिएका व्यवहारिक र शास्त्रीय जीवनोपयोगी साधनाको रहस्यलाई युग सुहाउँदो प्रयोगात्मक दृष्टिले मन्त्र विज्ञान नामक पुस्तकमा उल्लेख गरिएको छ । पुस्तकमा समेटिएका साधनाका तरिका पठनीय छन् । वैदिक चिन्तन धाराका विभिन्न विषय, मन्त्र र मन्त्रसाधनाका मार्ग, महाविद्याको उपादेयता र उपास्यभाव, ग्रह र ग्रहशान्तिका उपाय, रत्न र रत्नधारणको वैज्ञानिक विवेचनाजस्ता महत्वपूर्ण क्षेत्रलाई पुस्तकमा समेटिएको छ ।

पुस्तकले पाठकलाई अन्धकारबाट उज्यालोतर्फ लैजान सहयोग गर्नेछ । विभिन्न तापबाट सन्तप्त समाजलाई सांसारिक कष्टबाट मुक्त पार्न यो ग्रन्थ सेतु बन्न सक्छ । भनिएको पनि छ, ‘देवाधीनं जगत्सर्वं मन्त्राधीना: च देवता:’ अर्थात् जगत् देवताको अधीनमा छ । देवताचाहिँ मन्त्रका अधीनमा छन् । यही भनाइबाट पनि मन्त्रको महत्व कति छ भन्ने प्रष्ट हुन्छ ।

मन्त्रको वैज्ञानिक विषयवस्तु सङ्कलन गरेर विश्लेषण गरी मन्त्र विज्ञान भाग–१ पुस्तक डा मिलनकुमार थापाले तयार पार्नुभएको छ । पशुपति क्षेत्र विकास कोषको कोषाध्यक्षसमेत रहनुभएका थापाको यसअघि ‘ज्ञानशाला’ विसं २०७१ र ‘तन्त्र विज्ञान’ विसं २०७३ मा प्रकाशित भइसकेको छ । मन्त्रमा ब्रह्माण्डको ऊर्जा विद्यमान रहेको हुन्छ । त्यो ऊर्जाको विषयलाई थापाले पुस्तकमा उल्लेख गर्नुभएको छ । मन्त्रको प्रयोगात्मक तरिकाले समाजलाई जानकारी दिन पुस्तक सफल छ ।

मन्त्रलाई आफूमा समाहित गरेर शास्त्र एवं गुरु परम्पराअनुसार साधना गर्दा मन्त्र सिद्ध हुन्छ । भारत वर्षमा मन्त्र साधना गुरुपरम्परा वा कुलपरम्पराको रुपमा चल्दै आएको छ । कतिपय मन्त्रको साधना विधि पुस्तकमा उपलब्ध भए पनि हजारौँ मन्त्रका साधना विधि ओझेलमा परेका छन् । ओझेलमा परेका मन्त्रको साधना विधि सङ्कलन गरी पुस्तकका रूपमा सार्वजनिक गर्दै जानुपर्ने आवश्यकता छ । प्रयोगात्मकरूपमा आएका पुस्तकको साधना गर्नु पनि जरुरी छ ।

मन्त्र साधनाको रहस्य थाहा नपाई गर्दा सिद्धि पाइँदैन । रहस्य थाहा पाएर साधना गर्ने हो भने प्रत्येक अक्षरमा मन्त्रको शक्ति रहेको सुभाषितभाण्डागार ग्रन्थमा यसरी उल्लेख गरिएको छ–

अमन्त्रमक्षरं नास्ति नास्ति मूलमनौषधम् ।

अयोग्य: पुरुषो नास्ति योजकस्तत्र दुर्लभ: ।।

अर्थात् कुनै पनि अक्षर यस्तो छैन जसमा मन्त्र नहोस् । औषधि नभएको वृक्ष छैन । कुनै पनि व्यक्ति अयोग्य छैन । तर त्यसलाई सही प्रयोग गर्ने कर्ता अथवा संयोजक भने दुर्लभ छ । प्राचीन वैदिक ग्रन्थमा मन्त्रको परिभाषा यसरी गरिएको छ– ‘मननात् त्रायते इति मन्त्र’ अर्थात् चिन्तन मनन्बाट रक्षा गर्ने तत्व नै मन्त्र हो । ‘मन्त्र अस्यास्ति इति मन्त्री’ अर्थात् जसमा मन्त्रत्व शक्ति छ, त्यो मन्त्री हो । यसैगरी ‘मन्त्रस्य आलय इति मन्त्रालय’ अर्थात् मन्त्रहरुको घर नै मन्त्रालय हो । यसरी हेर्दा मन्त्रीमा मन्त्रत्व शक्ति अर्थात् नीति नियम हुनुपर्छ । त्यस्तै नीति नियमको घर नै मन्त्रालय हो ।

हितोपदेशमा भनिएको छ, ‘षट्कर्णो भिद्यते मन्त्र मन्त्रस्चतुष्कर्ण स्थिरो भवेत्’ अर्थात् दुई जनाभन्दा बढी मानिसकाबीच मन्त्र सुनाउनु हुँदैन । चार कान भएको स्थानमा सुनाएको मन्त्र स्थिर हुन्छ । छ कान वा त्यो भन्दा बढी भएको स्थानमा सुनाएको मन्त्र चुहिएर जान्छ । यसबाट पनि प्राचीनकालदेखि नै हाम्रो समाजमा मन्त्रको महत्व कति छ भन्ने प्रष्ट हुन्छ । वैदिक परम्पराको मन्त्र दिने यो नियमलाई पूर्वीय दर्शनका आधारमा कर्म गर्नेले मात्र होइन, पश्चिमाले समेत आत्मसात गरेका छन् । यसै सन्दर्भमा पछिल्ला पुस्ताका लागि मन्त्रप्रति आकर्षण गराउने कडी बन्न पुस्तक सफल देखिन्छ । मन्त्र हाम्रो विज्ञान हो, पुर्खाको सम्पत्ति हो, पछिल्ला पुस्तालाई अर्पण गर्नुपर्ने पैतृक वैभव हो । यी विषयलाई पुस्तकमार्फत उजागर गर्न स्रष्टा थापा सफल हुनुभएको छ ।

पश्चितर्फ फर्केर विज्ञानको गन्ध सुँघ्नेलाई पुस्तकले राम्रो होस खुलाएको छ । वैदिक ज्ञानविज्ञानप्रति विदेशी मन्त्रमुग्ध हुन थालेका छन् । मन्त्रको सुगन्ध स्वदेशमामात्र नभई विदेशमा समेत गराउन पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने देखिन्छ । पुस्तक मन्त्र, वैदिक परम्परा, रत्न आदि पक्षलाई जीवनसङ्गत तरिकाले प्रयोग गर्ने विधिलाई प्रकाश पार्न सफल भएको देखिन्छ ।

हाम्रो जीवनशैली र दैनिकी मन्त्रमय छ । बिहान उठेर ओछ्यानमै हातको दर्शन गर्ने, पृथ्वीको प्रार्थना गर्ने र आफूभन्दा ज्येष्ठलाई अभिवादन गर्ने मन्त्र छन् । स्नान गर्ने, खाना खाने बेलादेखि राति नसुतेसम्मका लागि मन्त्रोच्चारण गर्ने वैदिक परम्परा छ । यसैले पूर्वीय दर्शनमा जीवन मन्त्रमय छ । मन्त्रले तनावकाबीच खुशी भएर जीवनयापन गर्न सहयोग गर्छ । थापाको पुस्तक यसैतर्फ मानवलाई डो¥याउने मार्ग बनेको छ ।

पुस्तक तीन खडमा विभाजित छ । ५५ शीर्षकमा विभाजित पहिलो खण्डले मन्त्रका बारेमा सर्वसाधारणलाई लाग्न सक्ने जिज्ञासा शान्त गर्न सहयोग गर्नेछ । मन्त्रको उत्पत्ति, वेद, वेदाङ्ग, उपाङ्ग, पुराण, नीतिग्रन्थ, महाकाव्य आदिको परिचयसहितको जानकारी दिइएको छ । शास्त्र र ग्रन्थबाट विमुख भई जिज्ञासा राख्नेलाई यो खण्ड पठनीय र मननीय छ । दोस्रो खण्डमा मन्त्रका प्रकार, प्रकृति, शोधन आदिले स्थान पाएका छन् । ११ शीर्षकमा बाँडिएको यो खण्डमा मन्त्र साधनाका आधारभूत विषयलाई व्याख्या गरिएको छ । मन्त्रप्रतिको अन्धविश्वास हटाउने प्रयास पनि यो खण्डमा गरिएको छ । तेस्रो खण्डमा बाह्र राशि, रत्नका प्रयोग एवं नवग्रह शान्तिको सैद्धान्तिक विषयलाई विश्लेषण गरिएको छ । ग्रहदशाबाट प्रतिकूल अवस्थालाई निराकरण गर्न आवश्यक पर्ने ज्ञानलाई यस खण्डले समेटेको छ । तेस्रो खण्ड १० शीर्षकमा विभाजित छ । समग्रमा पुस्तक ज्ञान, उपासना र कर्मकाण्डको त्रिवेणी बन्न सफल भएको छ । पाठकले अपेक्षा गरेअनुसार प्राप्त गर्ने गरी मन्त्र विज्ञान पठनीय, मननीय, चिन्तनीय, सङ्ग्रहणीय पुस्तक बनेको छ ।

मन्त्र र विज्ञानलाई छुट्याएर हेर्न हुँदैन भन्ने विचारलाई पुस्तकले पुष्टि गरेको छ । पुस्तकले मन्त्रको सूक्ष्मता बुझाउने बाटो देखाएको छ । हाम्रा पुर्खा ऋषिमुनिको विरासतलाई पनि मन्त्र विज्ञानले स्मरण गराएको छ । संस्कृत भाषाको ज्ञान नभएका पाठकलाई पनि मन्त्रका बारेमा बुझ्न पुस्तकले योगदान गर्नेछ । नेपाली भाषामै मन्त्रको बहुआयामिक महत्व बुझाउन पुस्तक सफल छ । जिज्ञासुलाई केन्द्रविन्दुमा राखेर तयार गरिएकाले मन्त्रका दार्शनिक र कठिन पक्ष पुस्तकमा मौन छन् । थापाको विद्यावारिधि शोधलाई पुस्तकका रूपमा स्थापित गर्न सम्पादक हरिप्रसाद सोडारीले सरल भाषामा सम्पादन गर्नुभएको छ । अर्को भागमा मन्त्रका दार्शनिक र कठिन पक्षलाई समेत पाठकले बुझ्ने गरी पस्कने प्रतिबद्धता पुस्तकमा जनाइएको छ ।

पुस्तकमा समावेश गरिएका तस्वीरले विषयवस्तुलाई चित्रबाटै बुझ्न सजिलो बनाएको छ । धर्म, संस्कृति, विद्यापरम्परा संरक्षण गर्न स्थापित सङ्घसंस्थालाई मार्गदर्शक बन्न पुस्तक सफल हुने देखिन्छ । मन्त्रजस्तो गहन विधालाई चिन्तन, मनन नै नगरी बदनामको पगरी गुथाइएकामा त्यो भ्रम चिर्न पुस्तकले योगदान दिएको छ । मन्त्र प्रयोग गर्ने हुँ भन्नेहरुले नै मागीखाने, चमत्कार गर्ने, ठगी खाने विद्या बनाई आएकामा वास्तविकता उजागर गर्न पुस्तक सफल भएको छ ।

प्राविधिक कारणले हुनसक्छ, केही भाषिक अशुद्धिबाहेक पुस्तक पठनीय छ । आकर्षक आवरणसहित गुणस्तरीय कागजमा छापिएको पुस्तक श्रीहनूमान् तन्त्र शिवशक्ति साधना तथा रिसर्च सेन्टरले प्रकाशन गरेको हो । कडा गातासहित २८२ पृष्ठको पुस्तकको मूल्य रु दुई हजार ५७५ छ । मन्त्रका विषयमा जानकारी खोज्नेका लागि पुस्तक सङ्ग्रहणीय छ । रासस

प्रतिक्रिया दिनुहोस