माल्टा–नेपाल संसदीय मैत्री समूह गठन


गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहनुभएको छ । संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिनु भयो ।

युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । यसअघि माल्टामा माल्टा–नेपाल मैत्री समाज एवं माल्टा–नेपाल च्याम्बर अफ कमर्श समेतको स्थापना भइसकेको राजदूत सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस