गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन


भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यापारीहरुलाई गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन दिनुभएको छ ।

नगरपालिकाले आज कार्यालयमा आयोजना गरेको भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीको भेलामा यस्तो निर्देशन दिनुभएको हो ।

मानिसको जीउज्यान खतरामा हुने अखाद्य वस्तु बिक्री नगर्न, गुणस्तरीय सामान मात्रै बिक्री गर्न, प्रत्येक पसलमा मूल्यसूची राख्न, म्याद गुज्रेका सामान छुट्टै राखेर नष्ट गर्न उहाँले निर्देशन दिनुभयो । बजार अनुगमनमा व्यवसायीले निकै लापरवाही गरेको सन्दर्भ कोट्याउँदै उहाँले समयमै पसल दर्ता गर्नुपर्ने, नगरपालिकामा तिनुपर्ने कर समयमै तिर्नुपर्ने तथा सरसफाइमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको बताउँदै सामान बिक्री गर्दा बिक्री मूल्य उल्लेख गरी गुणस्तरीय सामान बेचबिखन गरी उपभोक्ताको मन जित्ने ढङ्गले व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र व्यवसाय नै खतरामा पर्ने सक्नेतर्पm सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नगरपालिकाको बजेट नगरवासीकै हितमा प्रयोग गर्ने उद्देश्यले उपभोक्ता समितिमार्पmत भौतिक निर्माणकार्यलाई प्राथमिकता दिएको बताउँदै सम्पदा बचाउने अभियानमा नगरपालिका लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवां, वडा नं ३ का अध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, वडा नं ६ का अध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवाल, बजार अनुगमन समितिका सदस्य रोशनमैँया सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापतिले बजार व्यवस्थित हुनसके मात्रै नगरवासीको स्वास्थ्य राम्रो हुने बताउनुभयो ।

भेलामा आएका व्यवसायीले आफ्ना व्यावसायिक समस्या र नगरपालिकाले दिनुपर्ने सुविधाका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस