महुरे–फोक्सिङटार सडक कालोपत्र कार्य अलपत्र


खोटाङ, २५ पुस। तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा ठेकेदार कम्पनीको ढिलासुस्ती देखिएको छ । सगरमाथा राजमार्गमा पर्ने दिक्तेल–गाईघाट सडकअन्तर्गत महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक कालोपत्रको काममा निर्माण कम्पनी भारत कन्ट्रक्सन सिद्धी शाही जेभी र देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीको ढिलासुस्ती देखिएको हो ।

यसअघि नै कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । महुरे–फोक्सिङटार सडक खण्डअन्तरगत महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडक कालोपत्रको काम भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) सडक खण्डको काम देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले गरिरहेको छ । सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्रको काम पूरा नहुँदा जिल्लाबासी असन्तुष्ट बनेका छन् । भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने शर्तमा विसं २०७३ साल असार ३० गते सडक विभागसँग योजनाको सम्झौता गरेको थियो ।

रु ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनीयर गोपाल खकुरेलले बताउनुभएको छ । प्रमुख इञ्जिनीयर खकुरेलका अनुसार देवनारायण पवन÷मैनाचुली÷खाम्पाचे जेभीले जिम्मा लिएको सिम्पानी भञ्ज्याङ–फोक्सिङटार सडक खण्ड काम करीब ५९ प्रतिशत भौतिक प्रगति भएको छ ।

रु ५५ करोड ८७ लाखमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने शर्तमा विसं २०७३ साउन ११ गते सो खण्डको सम्झौता गरिएको थियो । तराईका जिल्लाबाट दैनिक उपभोग्यवस्तु तथा निर्माण सामग्री ढुवानीमा समेत सोही मार्ग प्रयोग गरिने उक्त सडक खण्ड कालोपत्रको काम दशैँतिहार यता काम ठप्प छ ।

काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटकपटक आफ्नो साइड इञ्चार्ज परिवर्तन गरेको स्थानीय मिलन राईले बताउनुभयो । “प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्कविहीन बनेर बस्ने गरेका छन्”, उहाँले भन्नुभयो, “ठेकेदार कम्पनीको लापरवाहीले सडक कालोपत्रमा भइरहेको ढिलासुस्तीका बारेमा जनप्रतिनिधि र दलका नेतासमेत चुपचाप बस्ने गरेका छन् ।”

भारत कन्ट्रक्सन÷सिद्धी शाही जेभीका साइड इञ्चार्ज नवीन मैनालीले महुरे–राजापानी सिम्पानी सडक खण्डमा गत कातिक २९ गतेसम्म काम गर्दा ५५ प्रतिशत भौतिक प्रगति भएकोे दाबी गर्नुभयो । महुरे–फोक्सिङटार सडक कालोपत्रको काममा गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ ।

महुरे–सिम्पानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले विसं २०७६ पुस २३ गते करीब ३० मिटर ड्रेन भत्काइदिएका थिए । सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तरहीन भएको र कार्यरत कामदारले वर्षौंसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीय बासिन्दाले विसं २०७६ पुस २० गतेदेखि महिना दिन सडकको काम ठप्प बनाएका थिए । रासस

प्रतिक्रिया दिनुहोस