वर्तमान सरकारको नेतृत्वमा समाजवाद आउँदैनः नेपाल


नेपाल कम्युनिष्ट पार्टी(नेकपा)दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि मुलुक सङ्कटमा धकेलिएको बताउनुभएको छ । सिरहास्थित कर्जन्हा नगरपालिकाको बस्तीपुरमा आज आयोजित किसान नेता जयगोविन्द साहको ३१ औंँ स्मृतिसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले ‘सरकार पूँजीवादको बाटो समाएर अगाडि बढिसकेकाले’ वर्तमान नेतृत्वमा समाजवाद आउन नसक्ने बताउनुभयो ।

उहाँले ‘पार्टी हित विपरीत गतिविधि देखाएकाले’ प्रधानमन्त्रीलाई कारवाही गरिएको स्पष्ट गर्नुभयो । ‘पार्टीलाई एकताको भावनानुरुप तथा विधि र पद्धतिअनुरुप अघि बढाउन आग्रह गर्दा अध्यक्ष केपी शर्मा ओली त्यस विपरीत अघि बढ्न चाहेकाले यस्तो परिस्थिति आएको’ उहाँको भनाइ थियो ।
सभामा पूर्वशिक्षामन्त्री तथा नेकपा स्थायी कमिटीका सदस्य गिरिराजमणि पोखरेलले प्रतिनिधिसभा विघटन संविधान र जनताको भावना विपरीत भएको बताउँदै सभा पुनःस्थापना हुने जिकिर गर्नुभयो । कर्जन्हा – ५ का किसान नेता साहको २०४७ पुस २५ गते भारतमा निधन भएको थियो । पञ्चायत विरोधी आन्दोलनमा लाग्नुभएका उहाँको शवसमेत तत्कालीन सरकारले नेपाल ल्याउन दिएको थिएन ।

प्रतिक्रिया दिनुहोस