राप्ती अस्पतालमा ‘सिटी स्क्यान’ सेवा शुरु


लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको भौतिक पूर्वाधार निर्माण गरी अस्पतालको क्षमता विस्तार गरिने बताउनुभएको छ । आज अस्पतालको सिटी स्क्यान सेवा तथा आवासगृहको उद्घाटनपछि आयोजित कार्यक्रममा उहाँले मुलुक सङ्घीय सरकारमा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पतालका रूपमा अगाडि बढाइएको भए पनि अझै पनि सेवाका हिसाबले प्रादेशिक अस्पतालका रूपमा विकास हुन नसकेको बताउनुभयो ।

पूर्वाधार निर्माण भएपछि अस्पतालको पनि क्षमता विस्तार हुने भन्दै मुख्यमन्त्री पोखरेलले यसअघि अस्पतालमा चिकित्सकहरु बस्नसमेत नमान्ने गरेकाले अब सुविधा सम्पन्न आवास निर्माण भएपछि त्यो समस्या नरहने बताउनुभयो । “पहिले यहाँ चिकित्सक बस्न पनि नमान्ने खालका समस्या थिए, अब सुविधासम्पन्न भवन निर्माण भएपछि यहाँ बस्न चाहने प्रवृत्तिमा विकास हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार चिकित्सकका हिसाबले उपयुक्त जिल्ला भए पनि यहाँ आउन नचाहने एकखालको अवस्था थियो तर अहिले दाङमै सरुवा मिलाइदिन पर्यो भनेर चिकित्सकहरु आउने अवस्था छ । उहाँले अस्पतालको जग्गा मिचिएको भन्दै त्यो जग्गा खाली गर्ने विषयमा सहजीकरण गर्नुपर्ने बताउनुभयो । स्वयं व्यक्तिले नै अस्पताल जस्तो पवित्र थलोको जग्गालाई खाली गरेर वास्तविक सुकुम्वासी भए विवरण भर्नसमेत अनुरोध गर्नुभयो ।

उहाँले चिकित्सक तथा कर्मचारीहरुलाई पूर्वाधार निर्माणमा कुनै चासो नदिनसमेत निर्देशन दिनुभयो । “पूर्वाधार निर्माणमा तपाईंहरुले चासो नदिनुस्, पूर्वाधार हामी निर्माण गर्छौं, तपाईंहरुले कसरी प्रभावकारी सेवा दिने भन्ने विषयमा चासो दिनुस् ।” अहिले रिफरल अस्पतालका रूपमा रहेको भन्दै यो समस्या अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो ।

त्यस अवसरमा अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेले अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा प्रवाहमा समस्या रहेको बताउनुभयो । अस्पताल २०० शय्यामा रूपान्तरित भए पनि अहिले पनि ५० शय्याका लागि मात्रै जनशक्ति भएको अध्यक्ष न्यौपानेले बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले अस्पतालमा आइसियु सेवा विस्तारका लागि भवन निर्माण प्रक्रिया अघि बढेको बताउनुभयो ।

सिटी स्क्यान सेवा शुरु भएपछि अब तुलसीपुरभन्दा बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारको रु तीन करोड ५० लाखको लागतमा उक्त सेवा शुरु गरिएको हो भने सङ्घीय सरकारको रु छ करोड ५० लाख लागतमा पाँचवटा भवन निर्माण गरिएका छन । तीमध्ये तीनवटा नर्सिङ क्वार्टर र दुईवटा चिकित्सक क्वार्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस