चोरी भएका मोटरसाइकलसहित सात जना पक्राउ


मोटरसाइकल चोरीमा संलग्न सात जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । झापाको बिर्तामोडलाई ‘सेल्टर’ बनाई कोठा भाडामा लिएर चोरीमा संलग्न गिरोहलाई नै प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो । पक्राउ परेकाबाट १४ मोटरसाइकलसहित एक थान स्कुटर बरामद गरिएको प्रहरी नायब उपरीक्षक रिजालले बताउनुभयो ।

पक्राउ पर्नेमा इलाम माई नगरपालिका–२ निवासी २२ वर्षीय क्षितिज भनिने रोशन तामाङ, सोही ठाउँका २० वर्षीय रोशन बुढाथोकी, माई नगरपालिका–६ निवासी ३० वर्षीय रोशन गिरी, सोही ठाउँ निवासी ३० वर्षीय राजेश गिरी, सोही ठाउँका २० वर्षीय मनिष गिरी, पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ बस्ने २१ वर्षीय रोशन भनिने २१ वर्षीय पासाङ तामाङ र ताप्लेजुङस्थित सिदिङवा गाउँपालिका–४ निवासी २२ वर्षीय सन्दीप लिम्बू रहेका छन् ।

इलाका प्रहरी कार्यालय अनारमनीले झापाका विभिन्न स्थानबाट बरामद गरेका १५ थान मोटरसाइकलहरु । विभिन्न मितिमा बिर्तामोडबाट हराएका मोटरसाइकलसहित चोरीमा संलग्न सात जनालाई प्रहरीले पक्राउपछि मङ्गलबार सार्वजनिक गरेको छ । तस्वीरः सुरेन्द्र भण्डारी, रासस

विभिन्न मितिमा हराएका मोटरसाइकलसहित उनीहरुलाई जिल्लाका विभिन्न ठाउँबाट पक्राउ गरिएको आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरिएको छ । प्रहरीका अनुसार केही दिनयता विर्तामोड तथा आसपासका क्षेत्रबाट दैनिक मोटरसाइकल चोरी भएको भन्दै उजुरी पर्ने गरेका थिए । त्यसपछि गिरोहको खोजीमा लागेको प्रहरी एक हप्तामा उनीहरूलाई पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । रासस

प्रतिक्रिया दिनुहोस