कोरोनाका कारण मलावीमा दुई मन्त्रीको निधन


विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण मलावीमा दुई मन्त्रीको निधन भएको छ ।

सरकारी अधिकारीहरुले उनीहरुको कोरोनाकै कारण मङ्गलबार बिहान निधन भएको पुष्टि गरेका छन् । उनीहरुका अनुसार यातायात तथा सार्वजनिक सेवा मन्त्री सिदिक मिया र स्थानीय सरकार मन्त्री लिङ्सन बेरेकान्यामको कोरोनाका कारण मृत्यु भएको हो ।

मृत्यु भएका दुवै मन्त्रीलाई अघिल्लो हप्ता कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि गरिएको थियो । पूर्वी अफ्रिकी मुलुक मलावीमा कोरोनाभाइरसका कारण यही जनवरीमा मात्रै अहिलेसम्म कम्तीमा ५० जनाको मृत्यु भइसकेको छ ।

एकै दिनमा सबैभन्दा बढी गत शनिबार १२ जनाको मृत्यु भएको थियो भने गत सोमबार १० जनाको मृत्यु भएको थियो । सोमबार एक दिन मात्रै देशभरी गरेर कूल ४५२ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

मलावीमा कोरोनाका कारण सोमबारसम्म २३५ जनाको मृत्यु भएको छ भने कूल दुई हजार ७४४ जना सङ्क्रमित अवस्थामा रहेका थिए ।

मलावी अफ्रिकाकै उच्च जोखिममा रहेका देशहरुको सूचीमा परेको छ । दक्षिण अफ्रिकाबाट आएकाहरु बढी सङ्क्रमित भएको पाइएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस