अतिरिक्त शुल्क लिने कलेजलाई कारवाही गर्न माग


नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारवाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजीव ढुङ्गानाले आज विज्ञप्ति जारी गरी अतिरिक्त शुल्क नतिरेको भन्दै दुई विद्यार्थीलाई एमबिबिएसको परीक्षा दिन रोकेर विद्यार्थीको भविश्यमाथि खेलवाड गर्ने कलेज र त्यसका सञ्चालकलाई कारवाही गर्न माग गर्नुभएको हो ।

छात्रवृत्ति पाएका विद्यार्थीलाई बस्न र खानबाहेक अन्य कुनै शीर्षकमा रकम नलिन विश्वविद्यालय अनुदान आयोगले स्पष्ट व्यवस्था गरिसकेको अवस्थामा जबर्जस्ती रकम असुल गर्नका लागि परीक्षामा सामेल हुन नदिनु दुःखद् भएको उहाँले बताउनुभयो । नेविसङ्घले परीक्षा दिनबाट वञ्चित गरिएका रामजी राम र पङ्कज रामलाई तत्काल पुनः परीक्षाको व्यवस्था मिलाउन त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान र डीनको कार्यालयसँग मागसमेत गरेको छ ।

नेविसङ्घका महामन्त्री दीपक भट्टराईले सरकारी छात्रवृत्तिमा अध्ययनरत दुई दलित विद्यार्थीलाई शुल्क नतिरेको भन्दै एमबिबिएस चौैथो वर्षको परीक्षा दिनबाट वञ्चित गर्नु निन्दनीय भएको बताउनुभयो । उहाँले यस्ता मेडिकल कलेजका सञ्चालकलाई सरकारले कडा कारवाही गर्नुपर्दछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस
अर्थ
धर्म दर्शन