क्याम्पस भवनको शिलान्यास


काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ स्थित सर्वमङ्गला क्याम्पसले निर्माण गर्न लागेको नयाँ भवनको आज एक कार्यक्रमको आयोजना गरी शिलान्यास गरिएको छ ।

वाग्मती प्रदेश सरकारको रु ४० लाखको लागतमा निर्माण हुन लागेको सो भवनको वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा प्रदेश सभा सदस्य लम्सालले विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्नका लागि सुविधासम्पन्न भवनले ठूलो महत्व राख्ने भन्दै लक्ष्यअनुरुप समयमै निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । क्याम्पसको भौतिक संरचनासँगै शिक्षाको गुणस्तर वृद्धिका लागि क्याम्पस परिवारले विद्यार्थीलाई आकर्षण गराउने खालको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिदैं उहाँले शैक्षिक गुणस्तर वृद्धिसँगै आकर्षक वातावरण निर्माणका लागि प्राध्यापक, अभिभावक र समाजसेवीलगायत सम्बन्धित सबै पक्षले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

क्याम्पस प्रमुख जयराम अधिकारीले शौचालयसहित तीन कोठे एकतले भवन निर्माण हुने बताउनुभयो । यसअघि पनि क्याम्पस भवन मर्मतसम्भारका लागि प्रदेश सभा सदस्य लम्सालको पहलमै प्रदेश सरकारले पहिलो वर्ष रु २० लाख र गत वर्ष रु ३० लाख बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस